वैशाख २२, काठमाण्डौ । नीति तथा कार्यक्रम पढ्दै गर्दा पटक पटक राष्ट्रपतिले मेरो सरकार भनेको विषय चर्चामा छ । यस विषयमा सत्तारुढ दलकै केही नेताहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
नेकपाकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति भनेको व्यक्ति नभै संस्था भएकाले यसको गरिमा राख्नुपर्ने बताइन् ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्दावली राख्नु मन्त्रीपरिषदको गल्ती भएको झाँक्रीले बताइन् ।
केही योजना र कार्यक्रम राम्रो भए पनि समग्रमा भने सन्तोषजनक नभएको झाँक्रीको तर्क छ ।
उनले आफ्नै दलले ल्याएको कार्यक्रम भएकाले मन नपरे पनि पक्षमै मतदान गर्ने बताइन् ।
समग्रमा नीति तथा कार्यक्रमको बारेमा भने कांग्रेस नेता डा. गोविन्द पोखरेलले खरो टिप्पणी गरे । केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम आलोचना गर्नसमेत लायक नभएको पोखरेलको भनाई थियो ।
पोखरेलले पनि राष्ट्रपतिले मेरो सरकार भन्नु गलत भएको तर्क गरे ।