काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्डका प्रत्यक्षदर्शी समसुल मियाँले घटनाका अभियुक्त सांसद मोहमद अफताब आलमलाई जोगाउन नलाग्न भन्दै आफूसँग भएको प्रमाण सार्वजनिक गरेका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अफताबको बमकाण्डमा मुख्य भूमिका रहेको प्रमाण आफूसँग रहेको भन्दै दोषीलाई उन्मुक्ति नदिन भनेका छन् ।
प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलासँग कुरपाकानी गर्ने क्रममा अफताबलाई निर्दोष सावित गर्न चुनौती दिदै भने, ‘म देउवाजीलाई भन्न चाहन्छु कि मसँग बमकाण्डको प्रमाण छ । घटनालाई छोप्ने गतिविधि नहोस् ।’
विगतमा घटना लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको आरोप लगाए । राज्य संयन्त्रको चरम दुरुपयोग भएको उनके आरोप थियो ।
मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले सत्ता र शक्तिमा बसेकाहरुले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा समेत गरे ।