Logo

पर्यटकीय गन्तव्य ‘रोइनदेवी’ क्षेत्र ओझेलमा



पाल्पा, १ माघ : रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित गोखुङ्गाको ऐतिहासिक, पर्यटकीय रैनादेवी ‘रोइनदेवी’ मन्दिर क्षेत्रमा पूर्वाधारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक, पर्यटकीय, पुरातात्विक तथा सामाजिक–सांस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्र हो । ऐतिहासिक झल्को पाइने रैनादेवी वरपरका क्षेत्रका बारेमा राज्य र निजीस्तरबाट खोज अनुसन्धान भने अझै हुन सकेको छैन ।

प्राचीनकालीन हतियार, मन्दिरको खोज अनुसन्धान हुन नसक्दा यस क्षेत्रको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र गुमनाम छ । भौतिक पूर्वाधारणको अभावमा धार्मिक पर्यटकीय केन्द्र बन्न सकेको छैन । पर्याप्त मात्रामा प्रचारप्रसार नहुँदा अझै यस क्षेत्रको महत्व बाहिर ल्याउन सकेको छैन । गोखुङ्गाको माथिल्लो भेगको जङ्गलभित्र रैनादेवीको मन्दिर फैलिएको छ । देवीको मुख्य मन्दिर सतह वर्गाकार भई जमीनमा डेढ मिटर गहिरो छ । छानो काठका बलोहरूलाई जोडेर गुम्बाकारमा रैनादेवी मन्दिर कोटघर, शौचालय, वर्षाको पानी सङ्कलनका लागि ट्याङ्की भौतिक संरचनामा सीमित छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले ऐतिहासिक रैनादेवी मन्दिरको डिपिआर बनाउन जिम्मा दिएको बताए । डिपिआरको काम ढिलाइ भएको उनले बताए । डिपिआरको काम ढिलाइ हुँदा थप काम गर्न चुनौती भएको छ ।

न्वागी पर्व किसानसँग सम्बन्धित छ । नयाँ धान घरमा भित्र्याएपछि देवीलाई चढाउने चलन छ । प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाइ त्यसलाई राम्ररी मुछेर विधिपूर्वक देवता तथा पितृहरूलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रहिआएको छ ।
नयाँ धानबाली पाकेपछि काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाइ त्यसलाई राम्ररी मुछेर विधिर्पूवक देवता तथा पितृहरूलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रहिआएको छ ।

नवदुर्गाको नबौ दिन, वैशाख पूर्णिमा र मङ्सिर महिनामा निकै चहलपहल हुन्छ । विशेषगरी न्वागी पर्वमा ठूलो मेला नै लाग्दछ । न्वागी महोत्सवका रुपमा दुई दिनसम्म यस क्षेत्रमा हजारौँ रैनादेवीको मन्दिर दर्शन गर्ने घुइँचो हुन्छ । कात्तिक महिनामा १७ गतेका दिन विधिपूर्वक धामीझाँक्रीद्वारा देवीसँग सोधेर उहाँको आत्राअनुसार भन्दै प्रत्येक वर्ष कात्तिक २३, २५, २७ र २९ गतेमध्ये एक दिन धान काटने गरिन्छ । सोही दिनदेखि ११औँ दिनमा देवीलाई पशुपक्षीको भाकल दिइन्छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाको विश्वास रहेको छ ।

यहाँका स्थानीय बासिन्दा वर्षभर परदेशी भए पनि न्वागीको समय पारेर घर आउने गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीका अनुसार हालको रैनादेवीको अहिले कोटघर र पहिला गोठ र अहिले मन्दिर रहेको क्षेत्रमा तोरीबारी रहेको थियो । न्यौपाने थरका बाहुन र छहरी थरका मगरले गाईपालन गर्ने क्षेत्र रहेको पाइन्छ ।

“न्यौपानको छहरी मगर सहयोगी गाईपालन गरी बसोबास गर्ने क्षेत्रका रुपमा परिचित छ । दुधालु लैनो गाई थियो । छहरीले बथानमा गाई चरनका लागि जङ्गल लगिए पनि हराउने गर्थिन् । दिनभर जङ्गलमा गए पनि हराउने दुधालु गाईले साँझ–बिहान दूध नदिँदा उनीहरु चिन्तित बने । न्यौपाने र छहरीले दूध नदिने र जङ्गलमा हराउने दुधालु गाईको चियो बढाए”, पन्थीले भने । “न्यौपाने र छहरीले तोरी बारीमा बीच भागमा दुधालु गाई उभिएको देखे । सुनको मौलोमा गाईको दूध बगिरहेको छहरीले देखे । न्यौपाने र छहरीले सुनको मौलो खन्न थाले । त्यो मौलो जतिजति खन्न थाले झनै तल जमीनमुनि भाँसियो, दिनभर समय खर्चिएर सुनको मौलो खन्न असफल भएपछि घर फर्किए”, पन्थीले भने ।

गोठालाहरूले सुनको मौलो झिक्न खनेको खाडल जस्ताको तस्तै देख्न सकिन्छ । गोठमा फर्किसकेपछि राति सपनामा चार हात भएकी र बाघमाथि चढेकी देवी प्रकट भएर न्यौपाने ब्राह्मणलाई आफू स्वर्गबाट तपस्याका लागि यस ठाउँमा आएको बताउँदै अबदेखि सुनको मौलो खनेको ठाउँमा ब्राह्मण र छहरी मगरहरू आएमा उनीहरूको वंश नै नास हुने श्राप दिइन् भन्ने किम्बदन्ति रहेको छ ।

स्थानीय दर्लामी थरका एक सिपाही पल्टनतर्फ झिसमिसेमा जाँदै रहेछन् । गोखुङ्गा पँधेरामा रहेको फलाँटको रुखनेर आइपुग्दा उनले बाघमा चढेकी एक सुन्दर कन्यालाई रोइरहेको देखे । तिमी को हौ भनेर सोध्दा ती कन्याले आफू स्वर्गबाट तपस्या गर्न यस ठाउँमा आएको तर न्यौपाने ब्राह्मण र उनका सहयोगीले आफ्नो तपस्या भङ्ग गरिदिएको हुनाले आफू त्यसठाउँमा बस्न नसकी अन्तकतै जानलागेको बताइन् ।

यो सुनिसकेपछि दर्लामी थरका ती सिपाहीले देवीको शरणमा पर्दै त्यो ठाउँ छाडेर अन्तकतै नजान आग्रह गर्दै देवीको रक्षार्थ आफू र आफ्ना सन्तान लागिरहने बताएको स्थानीय बासिन्दा जगलाल नेपालीले बताए । यसै मान्यताको आधारमा अहिले न्यौपाने ब्राह्मण र छहरी मगर मन्दिरमा प्रवेश गर्दैनन् । दर्लामी जातिका युवाले अहिले पनि यस मन्दिरमा पूजा गर्छन् ।समुद्री सतहबाट एक हजार ३७२ मिटरको उचाइमा रहेको यस मन्दिरलाई धार्मिक हिसाबले मात्र नभई पर्यटकीय महत्वका आधारमा पनि प्रचारप्रसार गर्न सकिएमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्