दीपेश केसीः जर्मनीको ट्रायर शहरमा यहुदी परिवार बस्थ्यो । अल्पसंख्यक यहुदी परिवार राज्यको धर्म र समुदायको पूर्वाग्रही व्यवहारले समस्यामा थियो । त्यहाँ टिक्न बस्नका लागि उक्त परिवारले यहुदी धर्म परिवर्तन गरी इशाई धर्म अन्तर्गतको प्रोटेस्टेनमा रूपान्तरण ग¥यो । तैपनि यहुदी संस्कार छाडेन । सोही परिवारमा तेस्रो सन्तानका रूपमा कार्ल हेनरिक र्माक्सको जन्म ५ मे सन् १८१८ मा भयो । बाबु हेनरिक मार्क्स वकिल थिए । आमा हेनरियटा माक्र्स धार्मिक स्वभावकी थिइन् । तर मार्क्स आमाभन्दा दर्शनशास्त्र मन पराउने बाबुबाट निकै प्रभावित थिए । धर्मलाई समेत अफिम हो भनी आलोचना गरे ।
जर्मनीको प्राचीन शहर राइनल्याण्डको ट्राइरमा फरक संस्कृतिका बासिन्दा थिए । फरक भाषी र समुदायसँगाको घुलमिलले माक्र्सको सोच फराकिलो बनायो । उनी बहुभाषा बोल्न र लेख्न सक्ने भए । जन्मे हुर्केको वातावरणले र्माक्सको जीवनको पछिल्लो अवस्थासम्म असर पारिरह्यो । १२ वर्षको उमेरसम्म घरमै बसेर अध्ययन गरे । त्यसबाहेक शिक्षाप्रेमी छिमेकीको घरमा पुगेर दर्शनशास्त्रका पुस्तक पल्टाइरहन्थे । १३ वर्षमा ट्राइरस्थित फ्रेडरिक विलियम तृतीय विद्यालयमा अध्ययन गर्दा नै प्रतिभा झल्किसकेको थियो । औपचारिक शिक्षामा मार्क्स औसत स्थानमा थिए । तर बाह्य ज्ञान र अतिरिक्त क्रियाकलापमा चाख राख्थे । त्यसमाथि आमाबाबुले भोल्तेयर, डेडोरोयट र रूसो जस्ता विद्धानको पुस्तक पढ्न लगाए र फ्रान्सेली पुर्नजागरणकालिन विचारहरूबारे चिन्तनमा प्रेरित गरे । बेरोन भोन वेष्टफालेन नामका छिमेकको घरमा पुगेर होमर, डाटे र सेक्सपियरका कृतिहरू पढ्थे ।
किशोरावस्था हुँदा नै मार्क्सका बाबुको निधन भयो । परिवार आर्थिक समस्यामा पर्यो । मार्क्स सेनामा भर्ती हुन चाहन्थे । तर, कमजोर छातिका कारण पर्सियन सेनामा प्रवेश गर्नबाट वञ्चित भए । र्माक्स चाहेको बन्न नपाउँदा दुःखी भए तर विचलित भएनन् । उनी अध्ययनमै लागे । दर्शनशास्त्रको गहिरो अध्ययन गर्दै झन् झन् जिज्ञाशिलो बन्दै गए । पुस्तकप्रेमी छिमेकी बेरोनकी छोरी जेनीसँग मार्क्सको प्रेम बस्यो । जेनी असाध्यै सुन्दर थिइन् । ट्रायर शहरमा उनको रूपको चर्चा हुन्थ्यो । रूपश्री जेनीलााई गुमाउन चाहेनन् । १८४३ मा आफूभन्दा चार वर्षले जेठी जेनीसँग मार्क्सले विवाह गरे । त्यसपछि उनीहरू फ्रान्सको पेरिसमा बस्न थाले । दुवैबाट सात सन्तानको जन्म भयो जसमध्ये चारजनाको सानैमा निधन भयो । मार्क्सको अन्य महिलासँग पनि सम्बन्ध भएको खुलेको छ । हेलेन डेमुथ नामकी महिलाबाट मार्क्सको सन्तान जन्मिएको थियो । जेनीले उक्त घटनाबारे दुःख पोख्दै लेखेकी थिइन् ।
मार्क्स बहुविषयका चिन्तक हुन् । अर्थशास्त्री, समाजशास्त्री, दर्शनशास्त्री, इतिहासकार समेत हुन् । उनले विशेषत पूँजीवादबारे केन्द्रित भई गहन चिन्तन गरे । शक्ति, गरिब र धनी हुनुको कारण, ऐतिहासिक द्वन्द्वात्मक भौतिकककवाद, विज्ञान, अर्थतन्त्र र जीवनबीचको अन्र्तक्रिया, कसरी प्रविधिले सामाजिक परिवर्तन ल्याउँछ, कसरी समाजले तिनको पुर्नउत्पादन गर्छ भन्नेबारे गहिरो विश्लेषण गरे । मार्क्स बहुभाषाका जानकार थिए । उनी जर्मन, फ्रेन्च र अंग्रजीमा पोख्त थिए । त्यसबाहेक ग्रीक, ल्याटिन, स्पेनिसका अलावा तुर्किस भाषा समेत बोल्नसक्थे । धेरै भाषाको ज्ञान भएकाले मार्क्सले बौद्धिक चिन्तन र लेखनमा धेरै सन्दर्भ ग्रन्थहरूलाई आधार बनाउन सके । टाढा टाढाको समाजबारे समेत लेखे । यतिसम्मकी तत्कालिन नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाबारे समेत उल्लेख गर्दै ‘बेलायतको वफादार कुकुर’ भन्दै आलोचना गरेका छन् ।
मार्क्सले १७ वर्ष छँदा नै बनस्थित विश्वविद्यालयमा कानुन पढे । बर्लिनमा दर्शनशास्त्र अध्ययन गरे । सोही समयमा डक्टर्स क्लबमा आवद्ध भए जहाँ हेगेलियन दर्शनशास्त्रबारे बहस हुन्थ्यो । हेगेलको आलोचक फिउरबेकबाट प्रभावित भएर भौतिकवादबारे अध्ययन गर्थे । दर्शनशास्त्रको गहन अध्ययन गर्थे । मार्क्सले प्राचीन ग्रीक दर्शनशास्त्रमा १८४१ मा विद्यावारिधी गरे । त्यतिबेला उनी मात्र २३ वर्षका थिए । त्यसपछि प्रगतशिल विचारधाराका पत्रिका दी रेनिस्चे जेटुङको सम्पादन गर्न थाले । प्राचीन ग्रीक दर्शनशास्त्रको गहिरो अध्ययनले मार्क्समा इतिहासबारे चिन्तन गर्ने बलियो आधार तयार भयो । फिउरबेकको ऐतिहासिक भौतिकवाद र हेगेलको द्वन्द्वात्मक भौतिकवादलाई केलाउँदै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गरे ।
मार्क्स कुनैपनि सिद्धान्तको समर्थन वा विरोध भन्दा पनि ऐतिहासिक सन्दर्भ केलाएर तथ्य र तथ्यांकका आधारमा आलोचना गर्थे । हेगेलियन विचारधारा अन्तर्गतको समूहमा रहेर पनि हेगेलको विचारको आलोचना गरे । हेगेलले भौतिकवादलाई महत्व नदिएको औल्याउँदै सबै यथार्थ भौतिक आधार अर्थात् अर्थतन्त्रबाट निर्देशित वा अर्थतन्त्रमा अन्र्तनिहित हुने तर्क गरे । निष्कर्षमा मार्क्सले भने,‘अहिलेसम्मको विद्यमान समाजको इतिहास वर्ग संघर्षको हो ।’ दर्शनशास्त्रीहरूले अहिलेसम्म विभिन्न ढंगले समाजको विश्लेषण मात्र गरेको भन्दै मुख्य विषय परिवर्तन गर्नु हो भने । मार्क्स समाजको आमूल परिवर्तनका पक्षमा थिए । समाजमा विद्यमान शोषण र भ्रमहरू चिर्न सक्रिय भए ।
फ्रान्स बसाईंका क्रममा माक्र्सको भेट कम्युनिष्टहरूसँग भयो । त्यसमध्ये एंगेल्स पनि थिए जोसँग उनको जीवनभर घनिष्ठ मित्रता कायम रह्यो । एंगेल्ससँग मिलेर जर्नल प्रकाशित गर्न थाले । विचारोत्तेजक लेखहरूका काण जर्मनीमा बन्देज लाग्यो । एंगेल्सको साथले माक्र्सलाई सृजनशील कृति प्रकाशित गर्ने ऊर्जा मिल्यो । दुवै मिलेर दी होली फेमिली र दी जर्मन आइडोलोजी जस्ता चर्चित कृति पनि लेखे । माक्र्सले कम्युनिष्ट घोषणापत्र र पूँजी लेखे जसले विश्व इतिहासमा प्रभावशाली भूमिका खेल्दै आएको छ । मार्क्सको विचार तत्कालिन समयका लागि निकै आधुनिक र उग्र प्रकारको थियो । शासकहरूले उनलाई रूचाउँदैनथिए । उनी धेरै देशहरूमा बसे र त्यहाँबाट निकालिए । उनको विचारोत्तेजक लेख र कृतिले शासकहरूलाई अप्ठ्यारोमा पाथ्र्यो । १८४५ मा फ्रान्सबाट निस्काशित भए । त्यहाँबाट बेल्जियम पुगे ।
ब्रसेल्सबाट १८४८ मा निकालिए । १८४९ मा जर्मनी पुगे तर त्यहाँबाट पनि निकालिए । मार्क्स रज्यविहिन नागरिक बन्न पुगे । अन्तमा मार्क्स र जेनी लण्डन पुगे । महङ्गो भएपनि स्वतन्त्रता उपभोग गर्न पाए । मार्क्सका लागि लण्डन स्वर्ग सावित भयो । उनले आफ्ना महत्वपूर्ण कृतिहरू त्यहीं लेखे । ब्रिटिश म्युजियम पुस्तकालयमा बसेर गहन अध्ययन गर्थे । १८६७ मा डास क्यापिटलको पहिलो भाग प्रकाशित भयो । वर्ग संघर्षका लागि मार्क्सका विचारले प्रेरित ग¥यो । तर यूरोपमा हुनेगरेका युद्धहरूले राष्ट्रियताको भावना बलियो भई वर्ग संघर्ष कमजोर बन्यो ।
लन्डन बसाईंका क्रममा माक्र्स अध्ययन र लेखनमै केन्द्रित भए । राति अबेर सम्म बस्ने र सूर्तिजन्य पद्धार्थ सेवन गर्दा विरोमी परे । परिवार आर्थिक अभाव झेल्न वाध्य भयो । जेनी दुःखज्यालो गरेर गाँसको व्यवस्था गर्थिन् । १८६० मा जेनी विफरबाट ग्रस्त भइन् । भाग्यले बाँचेपनि उनको अनुहार बिग्रियो । कुनै समय ट्राइरकै सुन्दरी मानिने जेनीलाई विफरले कुरूप बनाइदियो । यता मार्क्सले आम्दानीको मुख्य स्रोत गुमाउँदै गए । अमेरिकी गृहयुद्धका कारण न्यूयोक डेली ट्रिबुनमा यूरोपबाट लेख्ने उनी हटाइए । रेल कार्यालयमा काम खोज्न पुगे । तर, नराम्रो अक्षरका कारण जागिर पाएनन् । अक्षर सफा नभएकैले जेनीले पुनः सारेर प्रकाशकसम्म पुर्याउँथिन् ।
मार्क्सको कठिन दिनहरूमा एंगेल्स सहायक बने । आर्थिक अभाव हुँदा भरथेग गरिदिन्थे । उग्र चिन्तक र विचारकको परिचय बनाएका मार्क्स क्रान्तिकारीहरूको वृत्तमा समेत बेवास्तामा पारिन्थे । कतिपयले कुख्यात कार्ल मार्क्स भन्थे केहीले चाहिं रेड टेरर डक्टर उपमा दिएका थिए । मार्क्स क्रान्तिकारी भनाउँदाहरूबाट समेत उपेक्षित थिए । धेरैको आँखाको कसिंगर बनेका थिए र्माक्स । पूँजीवादीहरूले मार्क्स बाचुञ्जेल मात्र नभई मरेपछि पनि घृणा गर्दै आउका छन् । उनले कामदार वर्ग, सर्वहारा वर्गको पक्षमा लेख्दै पूँजीवादको पतन भई साम्यवाद मार्फत् वर्गविहिन समाजको कल्पना गरेका छन् । आलोचकहरू उनको परिकल्पनालाई युटोपियन सोच भन्दै असम्भव भन्छन् ।
मार्क्सले धेरै दुःख खेप्नुप¥यो । आर्थिक अभावको चपेटामा पटक पटक परे । १८८१ मा कलेजोको क्यान्सरको संक्रमणमा परिन् । मार्क्स गहिरो आर्थिक संकटमा परे । उनले एंगेल्सलाई हृदयविदारक चिठी लेखे जसमा पत्नी विरामी भएको र परिवार दश दिनयता रोटी र आलुको भरमा बाँचिरहेको उल्लेख थियो । क्यान्सरबाट जेनीको निधन भयो । त्यसको दुई महिनापछि १४ मार्च १८८३ मा मार्क्सको निधन भयो । मार्क्सको निधनसँगै उनका केही कृतिहरू पूर्ण भएका थिएनन् । लेखनकै क्रममा थिए । एंगेल्सले तिनको सम्पादन गरे । क्यापिटलको भाग दुई र तीन एंगेल्सले सम्पादन गरे । मार्क्सको कृतिलाई अपूरो र अप्रकाशित हुन दिएनन् ।
मार्क्सको निधनपछि उनको चर्चा झन् चुलियो । सशक्त विचार र कृतिले मार्क्सलाई अमर बनायो । १९ औं शताब्दीका सबैभन्दा प्रभावशाली चिन्तकका रूपमा स्थापित भए । बीसौं शताब्दीको राजनीतिक र समाज उनकै सिद्धान्तको सेरोफेरोमा चल्यो । संसारको इतिहासलाई बदल्न सक्ने सिद्धान्तका प्रतिपादक भएकाले उनलाई एकाथरीले नायक र अर्काथरीले खलनायक ठान्छन् । मार्क्स विश्वकै ऐतिहासिक व्यक्तित्व हुन् भन्नेमा कुनै विवाद छैन । । उनलाई बुझ्ने प्रयास गर्नु भनेको १९ औं शताब्दीको पूँजीवाद, उपनिवेशवाद, सामाजिक र सैद्धान्तिक परिवर्तन आदिलाई बुझ्न खोज्नु हो । मार्क्स विभिन्न क्रान्ति र आन्दोलनका झन्कार हुन् । समाजवादको उदाउनु र ढल्नु, शितयुद्ध देखि
उपनिवेशविरुद्धको क्रान्तिमा मार्क्सको विचारले भूमिका खेल्यो । लेनिन, स्टालिन, ट्रोटोस्की, ग्राम्स्की, माओत्से तुङ देखि फिडेल क्यास्ट्रो समेत मार्क्सबाट प्रभावित थिए । मार्क्सको विचारको सेरोफेरोमा बीसौं शताब्दी घुम्यो । अस्तित्ववादी सार्ट हुने या कलाकार पिकासो नै किन नहुन् वा कवि पाब्लो नेरुडा, लेखक मेक्सिम गोर्की, जर्ज ओरवेल देखि नाटककार आर्थुर मिलर, बर्टोल्ड ब्रेच, चलचित्रकर्मी बुनुयल, चार्ली च्याप्लिन देखि दार्शनिक जर्ज बनार्ड शा, विलियम मोरिस, पाउल रोबेसन समेत र्माक्सको प्रभावमा परे । मार्क्सको सिद्धान्तले कला, साहित्य, राजनीति, पत्रकारिता, अर्थतन्त्रलाई मात्र प्रभावित पारेन युद्ध र शान्तिको समेत कारकतत्व बन्न पुग्यो । मार्क्सको सिद्धान्त प्रयोगमा ल्याउँदै रूस कुनैबेला महाशक्ति बन्यो । संसारमा ठूला ठूला क्रान्ति भए । मार्क्सको सिद्धान्तले संसारका धेरै देशहरूको नक्शा बदलिदियो । ठूला ठूला युद्धको कारक बन्यो । माक्र्सले यस्तो सिद्धान्त बनाए जसलाई हेर्ने चश्मा मात्र फरक हुँदा व्यक्ति समेत फरक व्यवहार गर्नसक्छ । उनका विचारहरू कतै सान्दर्भिक त कतै अव्यवहारिक लाग्नसक्छन् । (केसीको प्रकाशोन्मुख पुस्तकबाट)