काठमाडौं, २० फागुन । सांसद कोमल वलीले गहभरी आँसु पारेर महिलालाई विभिन्न बहानामा अवहेलना र आक्षेप लगाइने गरेको बताएकी छिन् । उनले महिलामाथि लक्षित आक्रमणको विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने समेत बताइन् ।
‘के महिलाले विवाह नगरी जीवन बिताउन नपाउने ?’ वलीले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा भनिन्,‘विवाह नगरेको कारण आक्रमण हुने ?’
धमलाले तपाईंले विवाह गरेको भए यस्तो आक्षेप र आक्रमण हुन्नथियो होला नि ? भनेस सोध्दा वली निकै भावुक भइन् । उनले महिला अविवाहित, स्वतन्त्र र छोडपत्र गरेर एक्लो जीवन जीउन नपाउने ? भनी उत्तर दिइन् ।
समाजमा महिलामाथि विभिन्न बहानामा आक्रमणहरु बढेको उनको भनाई थियो । आफूलाई क्षमता देखेरै राष्ट्रिय सभा सदस्य बनाइएको दाबी गर्दै समाजमा लामो समययता योगदान गर्दै आएको बताइन् ।
वलीले राजनीतिमा जाँदा आफूलाई फोहोरी खेलमा पुगेको भनी धेरैले सम्झाएको समेत स्मरण गराइन् । उनले रघुजी पन्तप्रति लक्षित गर्दै भनिन,‘एउटा मान्छेको घृणित अभिव्यक्तिले राजनीति फोहोरी हुन सक्दैन ।’