Logo

श्रमिकलाई खोप पाउनै मुस्किल



काठमाडौं, साउन १० । दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सोही आशाले सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ।’

झापाका अर्जुन गिरीको अवस्था पनि राम्जालीकै जस्तै छ। रोजगारीका लागि कतार जान श्रम स्वीकृति लिइसकेका उनले कोरोना भाइरसविरुद्ध खोप लगाउन पाउने आशामा थुप्रै स्वास्थ्य संस्थामा पुगिसकेको बताए। जहाँ पुगे पनि खोप छैन भन्ने जवाफ आउने गरेको उनको भनाइ छ। वैदेशिक रोजजगारीमा जानेले कोरानाविरुद्धको खोप नलगाउने हो भने कतिपय मुलुकले प्रवेशमा अनुमति नदिने र कतिपयले महँगो क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनअघि नै खोप उपलब्ध गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।

सोही आग्रहपछि स्वास्थ्यका अधिकारीहरूले वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने आश्वासन दिएका थिए। त्यस्तो आश्वासनपछि वैदेशिक रोजगारीमा जानेले कोरोनाविरुद्धको खोप पाउने आशा गरेका थिए। तर उनीहरूले सहजै खोप पाउन नसकेपछि वैदेशिक रोजगारीमा नै समस्या पर्ने व्यवसायीको चिन्ता छ। रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स ९युएई० र कुवेतले खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै घोषणा गरेको छ। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ अन्य मुलुक पनि सोही बाटोमा अघि बढेकाले खोप नलगाउँदा श्रमिकलाई समस्या पर्ने देखिएको बताउँछन्।

वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको सरकारी तथ्यांक छ। व्यवसायीहरू सरकारले विदेश जाने श्रमिकलाई खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको क्षेत्र नै धराशयी हुने जोखिम बढेको औंल्याउँछन्। युएईले वैशाख २३ देखि नेपालबाट जानेलाई आफ्नो मुलुकमा प्रवेश निषेध गरेको छ। यसरी रोक लगाउँदा पाँच हजारभन्दा बढी नयाँ र बिदामा घर आएका कामदारलाई समस्या परेको व्यवसायीको भनाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्