प्रिय,
म ओछ्यानबाट
बिहान अबेरसम्म उठेनछु भने
एकपटक नियाल्नु है –
कतै म निद्रामा नै चीरनिद्रामा पो गएँ कि ?
म शान्तसँग सुतिरहेको देखी
ढोका बन्द गरेर नजानु है
एकपटक आँखा च्यातेर हेर्नु
आँखा मुस्काएनन् भने
मुहार चम्किएन भने सोच्नु
म चीरनिद्रामा सुतेको छु भनेर …
धेरै नझक्झकाउनु है
दिनभरीको थकाई मेटाउन
रातमा निदाएजस्तै
जीवनभरको थकाई मेट्न
शीतनिद्रामा हुन सक्छु …
जीवनको प्रश्न सोध्न देवस्थल धाउँदा
जवाफ नपाएपछि
ईश्वर खोज्दै पुकारा गरेको हुन सक्छु
पुकार सुनी श्वासप्रश्वासको प्रवाहलाई
बिचैमा रोकिदिएर
आफूकहाँ आउन आमन्त्रण गरेका
ईश्वर पछ्याउँदै
अनन्त आकाशमा गएको हुन सक्छु …
मायाको मुटु साटेको छु तिमीसँग
त्यही साटिएको मुटु लिएर
गएको हुन सक्छु
तिमीसँग रहेको मुटुको
राम्ररी जतन गर्नु है
त्यहाँभित्र तिम्रै नामको आँशुको भेल पनि
बग्नै बाँकी हुन सक्छ …
जन्मेको धर्तीको
ऋण तिर्न बाँकी नै होला
वायुमण्डलबाट लिएको श्वासप्रश्वासको
मोल तिर्न बाँकी नै होला
धर्तीले दिएको अनाज र फलफूलको
उधारो तिर्न बाँकी नै होला
सबै उधारोहरु
तिमीलाई बोझ पारेको छैन
मैले आफ्नो जीवन जिउँदा
समाजले दिएको पीडासँग
बराबरी भएको हुन सक्छ …
लौ प्रिय,
शीतनिद्रामा आनन्दित भएर
सुतिरहेको मलाई
ब्युँझाउन छाडेर
सुनसान रातमा झ्यालबाट आकाशतिर हेर्नु –
त्यहाँ चम्किरहेको तारा बनेर
तिमीलाई नै नियाल्दै
मुसुक्क हाँसिरहेको हुन सक्छु …
डा.प्रदीप ढकाल