Logo

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघद्वारा एकता महाधिवेशन बहिष्कार



काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी राष्ट्रिय एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै उत्थान संघले राप्रपाको महाधिवेशन बहिष्कार गरेको छ । संघ राप्रपाको भातृ संगठन हो ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिईएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय संघका अध्यक्ष ऋषिबाबु परियारले हिन्दु धर्मभित्र रहेका विकृति र विसंगतिले दिनप्रतिदिन धर्म कमजोर भइरहेको भन्दै यस्ता समस्याहरुलाई अन्त्य नगरेसम्म हिन्दुधर्म बलियो बन्न नसक्ने धारणा राखेका थिए ।

साथै, उनले यस्ता समस्याको समाधान गर्नको लागि राज्यपनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । यस्तै, उनले ३ वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका थिए । ‘पार्टीमा हामीले यो कुरा राख्यौं, नेताहरुसँग अनुरोध गर्यौं तर, हाम्रो माग सम्बोधन भएन’–उनले भने ।

उनले मुलुकमा ७० लाखको हाराहारीमा रहेका दलित समुदाय र पछाडि परेका उत्पीडित वर्गलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन नसकेसम्म राष्ट्रिय विकासले गति लिन नसक्ने पनि धारणा राखे । उक्त कार्यक्रममा सहभागीहरुले राष्ट्रले दिएको अधिकार पनि पार्टीले बञ्चित गरेको भन्दै दुःख व्यक्त गरेका थिए ।

अध्यक्ष परियारले आफूले तीन वटा पार्टीबीच एकता भएपछि राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनहरुलाई समायोजन गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको सुनाए । तर, अहिले पार्टीले महाधिवेशनमा आफूहरुको प्रतिनिधित्व अत्यन्तै कमजोर रुपमा गराएको भन्दै उनले असन्तुष्टि पोखे ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पछाडि परेको वर्गलाई अगाडि बढाउने सन्दर्भमा यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टी चुकेको छ र विवेक गुमाएको छ । तसर्थ, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन उत्पीडित उत्थान संगठन यो एकता महाधिवेशन सर्वसम्मत् रुपमा बहिष्कार गरिएको व्यवहोरा निवेदन गर्दछौं ।’

 



प्रतिक्रिया दिनुहोस्