Logo

राप्रपा वा कमल थापा जस्तो प्रतिगामी नभएको ठाउँमा मात्र एमाले एक्लै लडेको थियोः रामनारायण बिडारी



काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले स्थानीय तहको निर्वाचन नेकपा एमालेको प्रतिगामी सोचलाई सवक सिकाउन सफल भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई फाइदा वा बेफाइदाभन्दा पनि प्रतिगामीलाई सबक सिकाउन सकियो । यो चुनावमा ५ दल एकातिर र एमाले लगायत सात थरी प्रतिगामी अर्कातिर थियौं । एमालेको केन्द्रीय पोलिसी नै प्रतिगामी थियो । एमाले एक्लै लडेको थिएन । राप्रपा वा कमल थापा जस्तो प्रतिगामी नभएको ठाउँमा मात्र एक्लै थियो ।”
उनले कांग्रेससँग समय समयमा सहकार्य भइरहेकाले नयाँ नभएको पनि औैंल्याए । बिडारीले भने, “नेपाली कांग्रेससँग सहकार्य गर्नुपर्ने चरण आउँदो रहेछ । २०४६ सालमा गणेशमान सिंहसँग, २०६२ सालमा गिरिजाप्रसाद कोइरालासँग पनि सहकार्य भएकै हो । प्रतिगामीहरुको चलखेलका कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्यो ।”
उनले माओवादी केन्द्रको लाइनमा हिँड्ने हो भने देशले दुःख नपाउने पनि बताए । बिडारीले थपे, “माओवादी केन्द्रजस्तो पार्टी अर्को कुन छ ? अहिले सबै दलहरुले माओवादीको शक्ति, नीति, नारालाई आड लिएका छैनन् ? अहिले समय सुहाउँदो उम्मेदवार दिन नसकेर स्वतन्त्र उम्मेदवार अगाडि आएका छन् । त्यो भनेको घुमाएर नो भोट भनेको हो । माओवादीले भन्या भन्या बमोजिम काम गरेको भए यस्तो हुँदैनथ्यो । भनेको मान्दैनन् त के हुन्छ ?”
माओवादी केन्द्रका नेता बिडारीले देशको नेता प्रचण्ड मात्र भएको पनि दाबी गरे । उनले भने, “यो देशको लिडर भनेको प्रचण्ड हो । तर उहाँलाई नौ महिनाभन्दा बढी प्रधानमन्त्री हुन दिएनन् । देशभरि चुनाव भएको हो, तर भरतपुरमा मात्र हराउन सबै ओइरिए ?”

“बलात्कारमा हदम्याद संशोधन गर्न मिल्दैन”
अर्को प्रसंगमा उनले आवेशमा आएर बलात्कारको हदम्याद संशोधन गर्न नमिल्ने जिकिर पनि गरे । बिडारीले भने, “८ वर्ष पहिले एउटी नानीलाई अन्याय भएछ, भोलि कुनै बाबुलाई पनि हुन सक्छ । उनले साबालक भएपछि उजुरी गर्नुपर्थ्र्यो । हदम्याद बेगर कुनै पनि मुद्दा हुँदैन । पहिले ख्याति श्रेष्ठको पालामा पनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेका थिए । तर हामीले राख्न सकेनौं । सजाय गर्ने अनेक कानुनी बाटाहरु छन् । राज्य भनेको सबैको हो । आवेशमा आएर कानुन संशोधन गर्न मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस्