Logo

उपेन्द्र यादवको प्रश्न : जनआन्दोलन दबाउन ज्ञानेन्द्रको सरकारमा बस्नेहरु आज राजपाका नेता भएका छन्, उनीहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँछ ?



काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशव्यापी रुपमा निर्वाचनको माहोल बनिरहेकोले अब कसैले चाहेरपनि निर्वाचन भाँड्न, विथोल्न नसक्ने दाबी गरेका छन् ।

यादवले राजपाका केही कार्यकर्ताबाहेक सबै जनता निर्वाचनमा भाग लिने विश्वास लिएका छन् । उनको दाबी छ,‘राजपा केन्द्रबाट जसलाई उचालिएको छ, त्यस्ता कार्यकर्ताबाहेक कति हाम्रो पार्टीमा आएर टिकट मागिरहेका छन्, कति काँग्रेस, एमालेतिर लागेर टिकट मागिरहेका छन् ।

राजपाको आन्तरिक द्ध्रन्द्धको कलह हो । त्यसको नेतृत्वले उग्र नारा दिएर जनतालाई झुक्याउने काम गर्नुभएन नि ।’ यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले अध्यक्ष यादवसँग गरेको कुराकानीको सम्पादित अंश ः

अब मधेशमा निर्वाचन हुने भयो, होईन् ?

हुन्छ । अब निर्वाचन कसैले चाहेर पनि रोक्न सक्दैन् । कोही पनि भ्रममा नपरे हुन्छ।

आज कता हुनुहुन्छ ?

म विराटनगरमा छु । जनता चुनावको तयारीका लागि जोडतोडले तातिरहेका छन् । मैले त देशव्यापी रुपमा उत्साह देखेको छु । धेरै राम्रो रौनक छ । जनता जागरुक छन् । जता ततै निर्वाचनको माहोल बनेको छ ।

तपाईले यसरी भनि रहँदा राजपा निर्वाचनमा भाग नलिने भयो नि ?

जनताले के भन्छन्, त्यो मुख्य कुरा हो । जनताले को आए ? को आएनन् भनेर जनतालाई सोच्ने फुर्सद छैन् । केही अलमल नभएको होईन, तर एकदमै उत्साहका साथ आफ्नो जनप्रतिनिधि छान्न जनता यतिवेला लालयित छन् । जनता ज्यादै आशावान छन् ।

संविधान संशोधन नभईकन तपाई निर्वाचन जानु भनेको धोका दिनु हो रे त ? राजपाको तपाइैमाथि गम्भिर आरोप छ नि?

जनता के भन्छन् ? जनता निर्वाचन भनिरहेका छन् । मसँग जनता हाम्रो अधिकार किन उपयोग गर्न दिदैनन् भनेर भनिरहेका छन् नि । अर्को कुरा संशोधनको प्रक्रिया सरकारले प्रयास गरेकै हो । हामीसँग दुईतिहाई छैन् । जुनदिन दुइ तिहाई पुग्छ, त्यो दिन संशोधन गरौँला नि ।

तर स्थानीय तहको संख्या थपिएन नि ?

संविधान संशोधन र स्थानीय तहको संख्या थप्नुपर्छ भन्ने म नै हुँ । संविधान सबैले मान्य बनाउनको लागि पुःर्नलेखन गर्नुपर्छ भनेर मैले भनेको हुँ । पहिलो चरणको निर्वाचनपछि संख्या थप्ने सरकारको निर्णयलाई अदालतले रोकेको छ । संशोधन अझै सम्भव छ । तर गर्न सकेको खण्डमा ।

तराईमा मोर्चाका कार्यकर्ताले तपाईलाई कालो झण्डा देखाएका छन्, तपाई मधेशमा नआउनुस् भनेर चूनौति दिएका छन् ?

राजपाको मुख्य क्षेत्र सर्लाहीमा छिर्न नदिने, सभा विथोल्ने कार्यमा उभिनुभयो । त्यहाँका जनताले कुटेर लखेटेका छन् नि । त्यसपछि विशाल जनताको बीचमा कार्यक्रम भयो । मोर्चाका व्यापक जनलहर, जनता हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । यसलाई के भन्ने ?

उसो भए दुई नम्बर प्रदेशमा जनता मतदान गर्छन् त?

राजपाका केही कार्यकर्ताबाहेक सबै जनता निर्वाचनमा भाग लिन्छन् । केन्द्रबाट जसलाई उचालिएको छ, त्यस्ता कार्यकर्ताबाहेक कति हाम्रो पार्टीमा आएर टिकट मागिरहेका छन्, कति काँग्रेस, एमालेतिर लागेर टिकट मागिरहेका छन् । राजपाको आन्तरिक द्ध्रन्द्धको कलह हो । त्यसको नेतृत्वले उग्र नारा दिएर जनतालाई झुक्याउने काम गर्नुभएन नि ।

मधेश आन्दोलनका धेरै माग पुरा नहुँदै तपाइले किन निर्वाचनमा भाग लिनु भएको त ?

आज पहिलेका कुरा स्मरण गराउन चाहन्छु । मधेश जनविद्रोह भईरहेको बेला हाल राजपाका वरिष्ठ नेता सत्तामा थिए । दोस्रो जनआन्दोलनका बेला राजाको मन्त्रिपरिषदमा थिए । उनीहरु जनताको आन्दोलन दवाउने काममा थिए । जनआन्दोलनको प्रतिकारमा थिए । पुरानो रायमाझी आयोग हेर्दा हुन्छ, मल्लिक आयोगको रिपोर्ट हेर्नुस् । कतिपय अपराधिहरू राजपामा छन् । तीनले आन्दोलनका कुरा गर्न मसँग कमसेकम सुहाउँदैन । मधेश विद्रोहमा ४३ जना सहिद हुँदासम्म उहाँहरू मन्त्रिमण्डमा हुनुहुन्थ्यो । दमन गर्ने उनै थिए । मधेश आन्दोलनको रक्षा र थप अधिकारको लागि लडिरहेका छौँ । धेरै कुरा गर्न बाँकी छ । हामीले छोडेका छैनौँ ।

महन्थ ठाकुरले मधेशका जनता निर्वाचनमा भाग लिन तयार छैनन् भनेर भन्नु भएको छ नि ?

मैले अघि पनि भने, उहाँकै गाउँमा जनताले कुटेर लखेटेको होईन । सभा त विथोल्न नसक्नेले निर्वाचनलाई के विथोल्ने कुरा गर्ने ? त्यहाँका जनता नै उहाँहरूलाई लखेट्नेमा छन् । म दुई दिन बसे । मोर्चाका नेताले गलत गरे भनेर भनेका छन् । प्राप्त उपलब्धिलाई संस्थागत गर्नको लागि निर्वाचनमा जानुपर्छ भनेका छन् । यदि जनताको निर्वाचनमा नजाने भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि किन मतदान गरेको भनेर भनिरहेका छन् । सत्ताको लागि प्रधानमन्त्रीका लागि भोट हाल्न जाने ? जनताले आफ्ना प्रतिनिधि छान्नको लागि भाग लिन्छौ भन्दा लिन नदिने ? सच्चा मधेशी को हो ? यो दोधारे चरित्र किन भनेर जनताले सोधेको बेला उहाँहरू उत्तर दिनसक्नु हुन्छ ?

मधेश आन्दोलनको उपलब्धि निर्वाचन मात्रै हो त ?

यतिमात्रै होईन । लोकतन्त्र हो । गणतन्त्र हो । निर्वाचनको माध्यामबाट अधिकारको अनुभुति गर्ने यही निर्वाचन हो ।

तपाई त संविधान नमानेको नेता हो नि ?

म त अहिलेपनि मान्दिन ।

संविधान नमान्ने तर निर्वाचनमा जाने, यो त अलिक नमिलेजस्तो भएन?

म निरन्तर भनिरहेको छु । संविधानको स्विकार्यता बढाउँ भनेर । यो भएन भनेर । जति प्राप्त छ नि त्यो आजसम्मको जनताको उपलब्धि हो । यति सकियो भनेर निर्वाचनमा जाने भनेको हुँ । एकैचोटि सबै पाईएन त के गर्नु ? बाँकी अधिकारको लागि जिन्दगीभर लडिरहने छु । स्थानीय तहको निर्वाचन मात्रै संविधानको कार्यान्वयन होईन । अर्को कुरा, मैले जुनबेला त्यो भनेको थिएँ, त्यो बेला संसदमा विद्येयक पेस गरिएको थिएन । आज भएको छ । त्यसलाई पास गर्नको लागि भूमिका खेल्नुपर्छ । बहुमत जुटाएर पारित गर्नुपर्ने हुन्छ । त्यो अहिले हामीसँग नभएको स्थीति जो छ, त्यसलाई बुझ्न्पर्यो नि । अहिले संशोधन मधेशका मुद्दाहरूलाई राजपाका नेताहरूलाई धेरै नै काँटछाँट गरेर अघि बढाएका छन् । हामीले अलग विद्येयक पेश गरेका छौं । हामीले राज्य पुनःसंरचना हुनुपर्छ भनेका छौँ। हामीले बहुभाषिक नीति भनेका थियाँै । उहाँहरुले भाषा आयोगमा लिएर छोड्नु भएको छ । आयोगले सुझाव दिएर मधेशले के पाउँने हो ? त्यसैले अहिलेको विद्येयक अधुरो छ । वैशाख ९ गते उहाँले सम्झौता गर्नुभयो । यसरी हेर्दा उहाँहरुले आन्दोलन स्थगित गर्नुभएको हो । एकै चरणको निर्वाचनलाई दुई चरणमा सार्नुपर्छ भन्ने पनि उहाँहरु नै हो । मनोनयन दर्ताको समय र मिति किन सार्न लगाउनु भएको हो ? निर्वाचन आयोगमा गएपछि दल दर्ता भएन । चुनाव चिन्ह छाता भन्नुभयो, अर्काको चुनाव चिन्ह छाता उहाँहरुले मागेर मिल्छ ? यति नपाएपछि क्रान्तिकारी पल्टेर कसैले मान्छ ?

त्यसो भए निर्वाचन जसरी भएपनि हुन्छ ?

अरे जनताको चाहना र आवश्यकता के हो ? त्यो बुझ्नुपर्छ । जनताको बिरुद्धमा कसैले जानु हुँदैन । मेरो त आग्रह छ मिलेर निर्वाचनमा भाग लिउँ । जनताबाटै जनताका शत्रुलाई समाप्त पारौँ भन्दा अनर्थ हुन्छ । त्यसपछि हामीले भनेको पाईन्छ । बाँकी अधिकार प्राप्तका लागि लडिरहनुपर्छ ।

तपाइको पार्टीले सबै जिल्लामा उम्मेद्वारी छनोट गर्नुभयो ?

प्रायः जिल्लामा सकियो केहीमा बाँकी छ । तत्काल त्यो पनि पुरा हुन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot