Logo

ढुक्क हुनुहोस, एमालेले पनि संशोधन प्रस्तावको पक्षमा मतदान गर्छ : यादव



काठमाडौं, २३ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी चौथो ठूलो शक्ति भएकोमा खुशी व्यक्त गरेका छन् ।

शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले चुनावको परिणामबाट आफू धेरै खुशी भएको प्रतिक्रिया दिए । उनले भने,‘म निकै खुशी छु, हाम्रो पार्टी चौथो ठूलो दल बनेको छ, जनताले हामीलाई विश्वास गरेका छन्, जनमतको हामी खुलेर कदर गर्छौं।’यद्धपी यादवले चुनावी दौडमा ठूला दलहरुले आफ्नो पार्टीलाई निषेध र षड्यन्त्र गरेको आरोप लगाए । उनले थपे,‘म निकै खुशी छु, षडयन्त्रको बावजुदपनि हामी चौथो शक्ति केन्द्र बन्यौं।’

‘कांग्रेस, एमाले र माओवादी केन्द्रले शक्तिको दुरुपयोग हामीलई कमजोर बनाउन खोजे, तर जनताले हामीलाई माया गरेर जुन मत दिए’, उनले थपे,‘यसले हामीलाई खुशी तुल्याएको छ।’

उनले मधेशी जनताको अधिकारको लागि सबैभन्दा पहिले र धेरै लड्ने नेता पनि आफू नै भएको दाबी गरे । उनले थपे,‘उपेन्द्र यादवजति मधेशको एजेण्डा बोक्ने नेता अरु कोही पनि छैनन्, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले अहिले आएरु नकुर्ले हुन्छ । मैले नै स्वायक्त मधेश प्रदेशको एजेण्डा बोकेको हुँ ।’

यादवले अहिलेपनि आफू संविधान पूर्नलेखनको पक्षमा रहेको बताउँदै भने,‘संविधान पूर्नर्लेखन गर्नुपर्छ, यो संविधानलाई मैले मानेको छैन । चुनावलाई आन्दोलनको रुपमा उपयोग गरेको छु । संविधान संशोधनमात्रै होईन, पूर्र्नेलखन नै गर्नुपर्छ ।’

उनले आफ्नो पार्टी अहिले सरकारमा जाने कुरा हल्ला मात्रै भएको समेत स्पष्ट पारे । उनले भने,‘अहिले उपेन्द्र यादवलाई हतार छैन, तर सरकारमा जाने वा नजानेबारे हामी केन्द्रिय समितिमा जानेबारे छलफल हुन्छ ।’

तपाई प्रधानमन्त्री बन्ने लाईनमा हुनुहुन्छ हो ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘भ्विष्यको कुरा नगरौं, भविष्यको कुरा गर्ने हो तपाईपनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ, अहिले पार्टीभित्र छलफल भएको छैन । तपाई पनि प्रधानमन्त्री बन्नुहुन्छ, पत्रकारिताको माध्यमाबाट काम गर्नुभएको छ ।’

उनले एमाले संविधान संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरे । यादवले भने,‘एमाले संशोधनको पक्षमा नआईकन सुखै छैन्, ढुक्क हुनुहोस एमालेले पनि संशोधन प्रस्तावको पक्षमा मतदान गर्छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot