Logo

समता स्कुलबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई फुलकुमारी महतो मेमोरियल ट्रष्टद्धारा ल्यापटप प्रदान



काठमाडौं, १० साउन। समता एजुकेशन फाउण्डेशनले यो वर्षको एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सबैका लागि शिक्षा भन्ने मुल नाराका साथ प्रति महिना एक सय रुपैयाँमा नर्सरीदेखि डिग्रीसम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयले आज काठमाडौंको एक पार्र्टी प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरि यो वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

हाँस्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गिरिजामणि पोखरेल, सांसद एवम् फुलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतो र चर्चित एवम् लोकप्रिय हाँस्यकलाकार सिताराम कट्टेल(धुर्मुस)ले विद्यार्थी तथा समता स्कुलका प्रिन्सिपल तथा विभिन्न विषयका शिक्षकहरुलाई संयुक्त रुपमा सम्मान गरेका थिए।
त्यस्तै एसईईमा समता स्कुल टपर छात्र र छात्रालाई फुलकुमारी महतो मेमोरियल ट्रष्टले एक÷एक थान ल्यापटप प्रदान गरेको थियो । ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतोले उक्त ल्यापटपहरु प्रदान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री एवम् माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले समता स्कुल सस्तो र गुणस्तरीय शिक्षाको एउटा वैकल्पिक बन्ने बताए ।
उनले हरेक बालबच्चाहरुमा आफ्नै किसिमका प्रतिभा हुने भएकोले बालबालिकाहरुको उज्जवल भविष्य देखाउने काम शिक्षक तथा शिक्षिकाहरुको भएको बताउँदै भने,“समताको भविष्यको बारेमा म सोच्दछु, यो कसरी अघि बढ्ला, व्यवस्थित् ढंगले अघि बढियो भने धेरै गर्न सकिन्छ।”

हरिबंश र मदनकृष्णजस्ता पिताहरु र उपेन्द्र महतोजीजस्ता सहयोगीहरुको भूमिकामा आगामी दिनमा समता स्कुललाई अघि बढाउनुपर्ने उनको जोड थियो । उनले भने,“यो दश वर्षको उपलक्ष्यमा जति सफलता हाँसिल गर्नुभएको छ, म बधाई दिन चाहन्छु, म जस्तोसुकै कोणबाटपनि सहयोग गर्न तयार छु ।”

त्यस्तै कार्यक्रममा सम्मानित विद्यार्थीहरुको लागि शुभकामना दिँदै ट्रष्टका उपाध्यक्ष डा. विरेन्द्र महतोले एक सय रुपैयाँमा पढाउने भनेर सुरुमा समता स्कुलको अवधारणा ल्याउँदा कसैलेपनि नपत्याएको र बरु उल्टै बहुला भनेर भनेको स्मरण गराए ।

सपना देख्नेहरुले पूरा गरेरै छाड्ने बताउँदै उनले भने,“हिजो सुरुमा यस्तो खाले अवधारणा ल्याउँदै गर्दा यो मान्छे बहुलायो भन्नेहरुलाई आज समता स्कुलाको सम्मानजनक उपस्थितिले तीनीहरुलाई ठूलो चूनौति दिएको छ, तीनीहरुको गलत धारणालाई यसले गलत नै सिद्ध गरिदिएको छ ।” ईच्छाशक्ति भयो भने जस्तोसुकै असंभव काम पनि संभव तुल्याउन सकिन्छ है भनेर देखाउने काम समता स्कुलले सिद्ध गरिदिएको उनको भनाई थियो ।

स्कूलका फाउण्डर उत्तम सन्जेलको बारेमा जति नै धेरै प्रशंसा गरेपनि कम हुने समेत महतोले बताए । त्यस्तै बरिष्ठ कलाकारद्धय महजोडी मदनकृष्ण र हरिवशंको पनि समता स्कुलप्रति ठूलो लगाव रहेको भन्दै उनले यसको लागि उहाँहरुप्रति मनैदेखि कृतज्ञता रहेको स्पष्ट पारे ।

आउने दिनमा समता स्कुलको अवधारणा अरु विकसित देशहरुलेपनि सिक्ने उनको विश्वास थियो । उनले भने,“मुलुक समृद्ध बनाउनु छ भने यसको लागि सबैभन्दा ठूलो जरो कुरा हो, गुणस्तरीय शिक्षा र शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस, आज तपाई हामीले हेरेका ठूला ठूला समृछ र विकसित देशहरुले यसरी तरक्की गर्नुमा यसको प्रमुख हतियार भनेको नै शिक्षा हो, समृद्ध देशहरुमा शिक्षा राम्रो भएकोले ती देशहरु सफल भएका हुन् ।”

आफ्नो बाल्यकालको विद्यालय शिक्षाबारे स्मरण गर्दै उनले भने,“हामी सरकारी विद्यालयमा पढेका हौं, जुटको बोरा ओछ्याएर पढेका हौं, भैंसी, गाई र गोरु चराएर पढेका हौं, त्यतिवेला न अंग्रेजीमा पढ्न नै पाईयो, धेरै दुःख गरेर पढेका हौं, तर हामीमा पढ्नुपर्छ भन्ने लगाव थियो।”

पढ्नुपर्छ, शिक्षित हुनुपर्छ भन्ने दृढ ईच्छाशक्ति भएकै कारण आज आफू यो ठाउँमा उभिन पाएको समेत उनले गर्व गरे । उनले भने,“तपाई सम्पूर्ण विद्यार्थी भाई बहिनीहरु धेरै भाग्यमानी हुनुहुन्छ, किनकी तपाईहरुले समतामा अग्रेजीमा पढ्न पाउनुभएको छ, अब तपाईहरु नमूना बन्नुभएको छ, तपाईहरु अब ठूलो भएर डाक्टर, ईन्जिनियर भएपनि तपाईहरुको सफलताको मापन भनेको नै समताको विद्यार्थी हो, त्यसैले तपाईहरु पनि म समता स्कुलको विद्यार्थी हुँ भन्नुहोस्, त्यही हो गर्वको विषय ।”

अन्त्यमा उनले आफूहरु नेतृत्वको ट्रष्ट समता स्कुलसँग जोडिन पाएकोमा अत्यन्तै खुशीको कुरा भएको टिप्पणी गरे । त्यस्तै उनले ट्रष्टका अध्यक्ष एवम् समाजसेवी डा. उपेन्द्र महतोले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा समता परिवारलाई पठाएको शुभकामना तथा बधाई सन्देश समेत प्रवाह गरेका थिए ।

कार्यक्रममाा महजोडीले पनि सम्मानित विद्यार्थी, शिक्षकहरुलाई बधाई एवम् शुभकामना दिएका थिए । समता स्कुलले राम्रो नतिजा ल्याएकोले आफूहरुको नाक ठूलो भएको समेत उनीहरुले बताएका थिए ।

त्यस्तै कलाकार सिताराम कट्टेललेपनि सम्मानित विद्यार्थीहरुलाई बधाई दिएका थिए ।

समताको पहिलो एस.एल.सी ब्याचमा जम्मा ११ जना विद्यार्थी थिए । तर १० वर्षपछि अर्थात २०७४ मा भने ११०० जना विद्यार्थीहरुले एसईई दिएर उत्तिर्ण गरेका छन् । समता स्कुल सन् २००१ मा स्थापना भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot