Logo

गोविन्दराज जोशीको मात्र होइन, अरु ४ जनाको उम्मेदवारी पनि खारेज



कात्तिक १९, काठमाण्डौ । निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार भएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेजको समाचार लगभग सबैले पढिसक्नुभयो होला । तर उम्मेदवारी बदर हुने जोशी मात्रै होइनन् । निर्वाचन आयोगले जोशी सहित अरु चार जनाको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।

मनोनयन दर्ता गराएकामध्ये १० जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । त्यसमध्ये पाँच जनाको उम्मेदवारी खारेज भएको छ ।
काठमाडौँ क्षेत्र नं ५ को (ख) का उम्मेदवार विदुरप्रसाद दाहालको मनोनयनपत्र रित नपुगेको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन बदर गरेको छ ।
कास्की जिल्ला निर्वाचन क्षेत्र नं ४ को (ख) का उम्मेदवार टीकाराम पंगेनीविरुद्ध दीपक कोइरालाले दिएको उजुरीको छानबिनपछि निर्वाचन अधिकृतको कार्यालय कास्कीले पंगेनीको उम्मेदवारी रद्द गरेको छ ।

मोरङ जिल्ला क्षेत्र नं ६ को (ख) का उम्मेदवार नसरुल मियाँको उम्मेदवारी खारेज भएको छ। दलको आधिकारिक उम्मेदवार नरहेको भन्ने उजुरीको छानबिनपछि उनको मनोनयन खारेज गरेको निर्वाचन आयोगमा जानकारी प्राप्त भएको थियो ।

नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ऋषिराम पौडेलविरुद्ध देवेन्द्रराज कँडेलले दिएको उजुरीको छानबिनपछि पौडेलको उम्मेदवारी मनोनयन पनि बदर भएको थियो।

सिराहा जिल्ला निर्वाचन क्षेत्र नं ४ को (क) का उम्मेदवार दिलीपकुमार साह, सुनसरी निर्वाचन क्षेत्र नं २ को (ख) का उम्मेदवार हेमकर्ण पौडेल, ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार नवराज सिलवाल, सर्लाही निर्वाचन क्षेत्र नं २ को (ख) का उम्मेदवार राजकुमार रायविरुद्ध परेको उजुरीको माग दाबीअनुसार उम्मेदवारी बदर गर्न नमिल्ने निर्णय भएको छ ।

पूर्व डिआइजी सिलवालविरुद्ध लाभको पद धारण गरेको भन्दै उजुरी परेको थियो । तर सिलवालले नेपाल प्रहरीबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा पनि स्वीकृत भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्