Logo

‘सुरक्षा संवेदनशील’ जिल्ला निरीक्षणमा प्रधानसेनापति



काठमाडौं १५ मंसिर ।
नेपाली सेनाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाको विशेष निगरानी सुरु गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्री नेतृत्वको विशेष सैनिक टोलीले बिहीबार भारतसँग सीमा जोडिएका र आपराधिक समूह बढी सक्रिय रहेका/हुन सक्ने जिल्लाको स्थलगत भ्रमण गरेको हो । विशेष टोलीले सिरहा, धनुषा, रौतहट र बारामा निर्वाचनलाई लक्षित गरेर खडा भएका सुरक्षा शिविरको निरीक्षण गर्दै सुरक्षा अवस्थाबारेमा जानकारी लियो । निर्वाचनको तेस्रो घेरामा रहने सेनाले सुरक्षा संवेदनशील क्षेत्रमा पहिलेदेखि नै गस्ती बढाइसकेको छ । सोही क्षेत्रमा प्रधानसेनापति क्षत्रीले भ्रमण गरी आफ्ना सकल दर्जालाई निर्देशनसमेत दिए । सेनाले शान्त र भयरहित निर्वाचनमा जोड दिएको जनाएको छ ।

क्षत्रीले आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन सेनालाई आफ्नो जिम्मेवारी सचेततापूर्वक निर्वाह गर्न निर्देशन दिए । मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राख्दै प्रधानसेनापति भारतसँग सीमा जोडिएका जिल्लाको सुरक्षा अवस्था नियाल्न आफैं पुग्नु सुरक्षाको दृष्टिकोणले अर्थपूर्ण छ । निर्वाचनको सुरक्षार्थ निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले अस्थायी तथा स्थायी सुरक्षा बेसहरूको स्थलगत वस्तुस्थिति, अपरेसन, तालिम, बन्दोबस्तीलगायत भएका तयारीबारे जानकारी लिएको सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रधानसेनापति क्षत्रीले सेनाको जिम्मेवारीमा आएको काठमाडौं–तराई जोड्ने द्रुतमार्ग निर्माणका लागि बनाइएको आधार शिविरसमेत अवलोकन गरे । उनले निर्माण कार्यदल गणको मकवानपुर जिल्लाको दोभान र बारा जिल्लाको निजगढमा निर्माण भएको दुई आधारशिविरको उद्घाटन पनि गरे । द्रुतमार्ग निर्माणका लागि १० स्थानमा उक्त आधारशिविर बनिरहेको छ । त्यसमध्ये पाँच स्थानमा निर्माण भइसकेको छ । बनेका मध्ये तीन स्थानमा उद्घाटन भएका हुन् । यसअघि रथि पूर्णचन्द्र थापाले दक्षिणकालीको मख्खुबेंसीमा बनेको यस्तै शिविर उद्घाटन गरेका थिए । सेनाको प्रतिष्ठाको विषय रहेकाले द्रुतमार्ग निर्माण समयमै सक्ने गरी काम अघि बढिरहेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot