Logo

पार्टी एकताका लागि जुन ठाउँमा बस्नु परे पनि म बस्छु : ईश्वर पोखरेल (भिडियो अन्तरवार्ता)



ईश्वर पोखरेल नेकपा एमालेका महासचिव हुन् । सन् १९९८ मा उनी नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए । त्यस्तै, सन् २००४ मा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । सन् २००९ मा नेकपा एमाले महासचिव झलनाथ खनाल नयाँ सर्वोच्च पद अध्यक्षमा नियुक्त बनेपछि उनी नेकपा एमालेका महासचिव भएका थिए । अहिले उनी दोस्रो पटक महासचिव पदमा छन् । केपी ओली नेतृत्वको सरकारमा उनी रक्षामन्त्री पनि हुन् । उनै पोखरेलसँग ऋषि धमलाले अन्तारवार्ता लिएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलाका लागि लिइएको अन्तरवाताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

वैशाख ९ गते पार्टी एकता हुन्छ भनिएको थियो । तर हलो कहाँ अड्कियो ?
हलो अड्किएको होइन । पार्टी एकता हुन्छ । एकताका लागि गर्नुपर्ने प्रारम्भिक कामहरु लगभग पूरा भएका छन् ।

केके काम पूरा भएका छन् ?
दुवै पार्टी सम्मिलित कार्यदलले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पार्टी एकता संयोजन समितिमा बुझाएको छ । दुईवटै दल नरहने गरी नयाँ पार्टी बनाउनका लागि अन्तरिम विधान चाहिन्छ । अन्तरिम विधानको पनि लगभग सहमतिका साथ प्रतिवेदन बनाएर बुझाएका छौँ । अब त्यो प्रतिवेदनमाथि छलफल प्रारम्भ भइसकेर टुङ्गिएको छ ।

पार्टी एकता संयोजन समितिले प्रतिवेदनका बारेमा के निष्कर्ष निकालेको छ ?
समितिले प्रतिवेदनको बारेमा दुई दलका अध्यक्षले छलफल गरेर टुङ्ग्याउने भनेको छ । केही केही विषयमा मात्रै कुरा टुङ्गिन बाँकी छ । दुई अध्यक्षले छलफल सकेपछि अन्तिम प्रतिवदेनको रुमपा समितिलाई प्रतिवेदन दिनुहुने छ ।

९ गते नै पार्टी एकताको घोषणा गर्ने भनेर त भन्नुभएको थियो नि ?
९ गते नै घोषणा गर्ने भनेर ठोकुवा गरिएको होइन । दुई वटै कार्यदलले कम्युनष्टि पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकताको घोषणा गर्नु उचित हुन्छ भन्ने सुझाब मात्रै दिएको हो । एकता संयोजन समितिले पनि उक्त सुझाबलाई सकारात्मक रुपमा लिएको थियो । तर ९ गते एकता हुन्छ भनेर घोषणा चाँही गरिएको थिएन ।

सबै विषयमा सहमति भइसकेको हो त ? अब विवाद छैन ?
केही केही विषयहरु जुन कार्यदलले दिएको प्रतिवेदनमा छलफल भएको छ । त्यसलाई अझै मसिनो गरी छलफल गर्नुस् भनेर दुईवटा पार्टीका अध्यक्षलाई छलफल गर्नुस भनेर दिइएको छ । उहाँहरुले छलफल गरेर संयोजन समितिमा प्रतिवेदन बुझाएपछि सबै कुरा टुङ्गिन्छ ।

विधानमा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने विवाद छ कि छैन ?
हामी एमालेको तर्फबाट के भन्दैछौँ भने नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न धारहरु अगाडि बढे । नेकपा एमाले एउटा वैचारिक धार अभ्यास गर्दै अगाडि बढ्यो । त्यसैगरी माओवादी पनि एक किसिमको धार बोकेर वैचारिक अभ्यास गर्दै अगाडि बढ्यो । विगतमा हामी जुन जुन धार र अभ्यास गर्दै आयौँ त्यसमा आ–आफ्नै स्वामित्व होला । दुवै दल हिजोको दिनमा जेजे अभ्यास गर्दै आए पनि अब दुवै दल मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा महत्वपूर्ण हो । जसरी माओवादीले हिजोको दिनमा जनयुद्ध गर्यो त्यसप्रपति एमालेको स्पष्ट विमति छ । यस विषयमा हामीले एमालेको दृष्टीकोण सार्वजनिक गरेका थियौँ । त्यसको आधारमा अहिले पनि छौँ । तर माओवादी केन्द्र जुन विचार र अभ्यासबाट निर्देशित भएर आयो त्योप्रति माओवादीले स्वामित्वको कुरा गर्छ भने विगतको कुरा रहन सक्छ ।

विगतको राजनीतिक घटनाक्रमलाई अब स्थान नदिने भन्नुभएको हो ?
आज परिवर्तित सन्दर्भमा जुन विन्दुमा आइसकेका छौँ यसबाट हामी मिलेर अगाडि बढ्छौँ । यही भावनालाई हामी युक्तिसंगत ढंगले विधानमा या अन्य दस्ताबेजहरुमा राख्न सकिन्छ । तर नेकपा एमाले र माओवादीले हिजोको दिनमा समातेको धारलाई उसैको स्वामित्व थियो भन्ने हिसाबले प्रस्तुत गर्नु हुँदैन । अब हामी नयाँ ढंगले अगाडि बढ्छौँ ।

वैचारिक रुपमा तपाई जनताको बहुदलिय जनवादको पक्षमा हुनुहुन्छ । अब २१ औँ शताब्दीको जनवाद र जबजमा कसरी सहमति हुन सक्छ ?
माओवादलाई हामीले कहिल्यै पनि मार्गदर्शक सिद्धान्तको रुपमा स्विकार गरेनौँ । तर माओवादी केन्द्रले त्यही अभ्यास गर्यो । विगतमा जबजलाई स्विकार गर्दै आएको एमाले र २१ औँ शताब्दीको माओवाद स्विकार गर्दै आएको माओवादी मिलेर नयाँ पार्टी बनाउँदैछौँ । दुवै दलले संविधानको सर्वोच्चता र कानुनको शाषन मान्ने, बहुमतको सरकार र अल्पमतको विपक्ष मान्नेछ, आवधिका निर्वाचन भनेर नै हामी यो ठाउँमा आएका हौँ । अब कसले जित्यो हार्यो भनेर कुरा उठाउनु जरुरी छैन ।

महाधिवेशनमा दुवै विचारका विषयमा छलफल गर्न त तयार हुनुभयो नि ?
महाधिवेशनमा पार्टीका प्रतिनिधीहरुले आफूलाई लागेका विषयमा छलफल गरेर स्थापित गर्न चाहन्छन् । अब हुने एकता महाधिवेशनमा पनि विभिन्न धारको प्रतिनिधित्व गर्ने नेताहरुले चाहनाअनुसार बहस गर्न पाउनुहुन्छ । कुनै पनि विषयमा छलफल गर्न पाउँदैनौँ भन्न मिल्दैन ।

एमालेका लागि जबज नै निर्विकल्प होइन र ?
जबज भनेको माक्र्सवाद र लेलिनवादलाई नेपाली विशिष्टताका लागि लागु गरिएको हो । जबज भनेको कुनै धर्मशास्त्र जस्तो एकपटक सुत्रवद्ध भएपछि त्यतिकै रहिरहने भन्ने हुँदैन । यो निरन्तर दिक्षित हुन्छ । तर यसको अन्तरवस्तु परिवर्तन हुन सक्दैन । आजको परिस्थितीमा कुनै विषय असान्दर्भिक हुन सक्छ । नयाँ विषय समेटिन सक्छ ।

राजनीतिक रुपमा वा सैद्धान्तिक रुपमा अप्ठ्यारो हुन्छ होला नि ?
अहिले हामी कुन ठाउँमा आइपुगेका छौँ भने विगतमा जे जस्ता अभ्यास गरे पनि दुवै दल एउटा विन्दुमा आइपुगेका छौँ । दुवै दलले संविधानको सर्वोच्चता र कानुनको शाषन मान्ने, बहुमतको सरकार र अल्पमतको विपक्ष मान्नेछ, आवधिका निर्वाचन मान्ने भनेर यो ठाउँमा आइपुगेका छौँ । प्रचण्डले पनि यि कुरा मानि सक्नुभएको छ ।

तर माओवादी अध्यक्ष प्रचण्डले बेलाबेलामा रणनीति परिवर्तन गर्ने गर्नुभएको छ । यसले असर गर्दैन ?
यतिबेला प्रचण्ड, केपी ओली वा कुनै पनि नेताले जनताको चाहनामा आँच पुग्ने गरी अगाडि बढ्नुहोला भन्ने मलाई लाग्दैन । त्यो छुट पनि छैन ।

प्रचण्ड र ओलीबिचमा केमेष्ट्री मिल्छ ?
विचारमा एक ठाउँमा उभिएपछि केमेष्ट्री नमिल्ने भन्ने कुरै आएन ।

प्रचण्डले पचास प्रतिशत वा बराबरीका आधारमा एकता हुनुपर्छ भन्नुभएको छ । यसले एकतामा असर गर्छ कि गर्दैन ?
संचारमाध्यमहरुले अनेक व्याख्या गर्नुभएको छ । प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुँदा यस्तो कुरा गर्नुभएको छैन । बाहिर के भन्नुभयो भन्ने कुराको पछाडि म जान्न । उहाँले वैधानिक फोरममा औपचारिक रुपमा यो तहको कुरा अहिलेसम्म भन्नुभएको छैन । भन्नुहुन्छ भन्ने लाग्दैन ।

तर बाहिर त स्पष्ट रुपमा भन्नुभएको छ नि ?
उहाँले सम्मानजनक एकताको कुरा गर्नुभएको छ । एकताको कुरा गर्दा अपमानजनक गर्ने भन्ने त कुरै हुँदैन ।

प्रचण्डले त मलाई किन सर्वसम्मत अध्यक्ष नबनाउने भन्ने तर्क पनि गर्नुभएको छ नि ?
मलाई एउटा एउटा केस्रा केलाउन नलगाउनुस् । तर अहिलेको आवश्यकता त्यो होइन । हामीले दुवै जनालाई अध्यक्ष बनाउने त भनिसक्यौँ नि । दुवै जना अध्यक्षको हिसाबले सहअध्यक्षको भूमिका रहन्छ । यो त विल्कुल नयाँ अभ्यास हो । महाधिवेशनले कसलाई अध्यक्ष बनाउने भन्ने कुरा त अहिले भनेर हुँदैन । महाधिवेशनको सर्वोच्चतालाई अहिले हस्तक्षेप वा अंकुश लगाउने काम अहिले गर्नुहुँदैन । प्रचण्डले पनि अहिले नै महाधिवशेनपछि आफू अध्यक्ष बन्न पाउनुपर्छ भन्नुभएको छैन ।

महाधिवेशनपछि प्रचण्ड अध्यक्ष भनेर केपी ओलीले लेखेरै दिने सम्भावना कति छ ?
केपी ओलीले नै लेखेर दिए पनि त्यो सुनिश्चितता हुँदैन । महाधिवेशनको सर्वोच्चतालाई कसैले पनि साँघुर्याउन सक्दैन ।

महाधिवेशनमा गएर अध्यक्षमा चुनाव लड्दा हार्छु भन्ने त्रास प्रचण्डमा छ नि ?
प्रचण्डजस्तो दूर दृष्टी भएको जिम्मेवार भएको नेताले त्यस्तो सोच्नुहुन्छ भन्ने म कल्पना पनि गर्दिन । पार्टीको नेता बन्ने भनेको त पार्टीभित्रका नेता कार्यकर्ताको मन जितेर पो हो त । अहिले नै त्यसमा सहमति वा लिखित प्रतिवद्धता खोज्ने कुरा त हास्यास्पद हो । दुवै पार्टीका कुनै पनि नेताले त्यति कच्चा ढंगले सोच्नुहुन्छ जस्तो लाग्दैन ।

त्यसोभए एकता महाधिवेशनअघि कसैलाई पनि नेतृत्व दिने सहमति गर्न सकिदैन ?
आउने दुई वर्षको अवधिमा हामी कसरी एकीकृत भएर जान्छौँ भन्ने आधारमा देशभरीका कार्यकर्ताले मूल्याङ्कन गर्छन् । देश र जनताका लागि एकता गर्न लागिएको हो भने मेरो के हुन्छ भन्ने तरिकाले सोच्नु हुँदैन । यसले एकतालाई कमजोर बनाउँछ ।

अलमलमा परेको यो एकता प्रक्रिया कहिले टुङ्गिन्छ त ?
अलमलमा परेको छैन । प्रक्रियागत रुपमा अहिलेसम्म एकएक गरेर सहमति गरेका छौँ । अहिले विधान र राजनीतिक प्रतिवेदनमा पनि सहमति गर्दै अगाडि बढेका छौँ । नेपालका कम्युनिष्ट पार्टीहरु फुट्न मात्रै होइन, जुट्न पनि जान्दछन् भनेर दुनियाँ चकित परेको छ । जे उद्देश्य राखेर जुटेका छौँ त्यसमा आँच पुर्याउँदैनौँ । अहिले नै मिति घोषणा गर्न सकिदैन । तर चाँडै नै पार्टी एकता हुन्छ ।

कुनै शक्तिले पार्टी एकता प्रक्रिया रोक्ने हो कि ?
हामी दृढ छौँ भने कसले रोक्छ ? हामी नै धरमर भयौँ भने समस्या आउन सक्छ । हामी एकताप्रति स्पष्ट बनिसक्यौँ । अब कसैले रोक्न सक्दैन ।

पछिल्लो समय नेताहरु धरमरमा परेका हुन् कि ?
नेताहरु धरमरमा होइन, झन गम्भीरतापूर्वक अगाडि बढ्न खोज्दै हुनुहुन्छ । धेरै तिक्तताहरुलाई मेटेर सहकार्य गर्दै अगाडि बढेका छौँ ।

दुवै दलभित्र नै पार्टी एकता नचाहने तत्वहरु पनि छन् भनिन्छ नि ?
पार्टी एकता भाँड्न चाहने कोही दुर्भाग्यवश रह्यो भने तिनीहरु पछाडि छुट्छन् । हामी अगाडि बढ्छौँ । एकता हुन्छ ।

पदीय भागबण्डाका कारण एकता हुँदैन भन्नेहरु पनि छन् नि ?
एकता नहुँदासम्म विभिन्न टिका टिप्पणी हुन्छन् । यो सामान्य कुरा हो । देशको आवश्यकता र जनताको चाहनाअनुसार एकता हुन्छ ।

शीर्ष नेताहरुको व्यवस्थापन कसरी हुन्छ ?
पार्टी एकताको वृहत्तर कुरा गरिरहँदा म कुन ठाउँमा पुग्छु भन्ने चिन्ता मलाई छैन । जुन ठाउँमा बस्नु परे पनि म बस्छु ।

तर ईश्वर पोखरेलले पाटी एकता चाहेन, भाँड्न खोज्यो भन्ने आरोप पनि लाग्यो नि ?
कसले के भन्यो म त्यता जान्न । म जे हुँ त्यो त तपाईसँग नै भनेको छु नि । एकताको कुरा गर्दा आफूलाई गौण ठान्नुपर्छ ।

प्रधानमन्त्रीमा ओली र प्रचण्ड आलोपालो गर्ने सहमति भएको हो कि होइन ?
यो आलोपालो भन्ने कुरा नै संगतिपूर्ण भएन । आलोपालो भनेको त मोर्चागत अवस्था रहँदा गरिने कुरा हो । दुईवटा फरक फरक पार्टी भएको अवस्थामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा हुन सक्छ । पार्टी नै एउटै हुने भएपछि एउटै दलबाट आलोपालो प्रधानमन्त्री बन्ने कुरा हुँदैन । प्रचण्डले पनि आत्मकेन्द्रित भएर त्यति तल झरेर अलमल्याउनुहुन्छ भन्ने विश्वास मलाई लाग्दैन । उहाँ एकताका लागि हतारिनुभएको छ ।

प्रचण्डले त आफूले धेरैलाई प्रधानमन्त्री बनाएँ भनेर अब आफू बन्ने चाहना राख्नुभयो । तपाईहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्नुहुन्न ?
मैले फलानालाई प्रधानमन्त्री बनाएँ भनेर भनेको सुन्न पाएको छैन । कुनै एउटा व्यक्तिले प्रधानमन्त्री बनाउने भन्ने कुरा सम्भव पनि छैन ।

तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छ कि छैन ?
एउटै पार्टी भएपछि त कार्यविभाजन हुन्छ । तर कहिले को प्रधानमन्त्री बन्ने भन्ने विषयमा केही सहमति भएको छैन । मैले थाहा पाएको छैन ।

प्रधानमन्त्रीको दाबेदार तपाई हो कि होइन ?
म अहिले रक्षामन्त्री छु । अरु विषयमा हामी प्रवेश नै गरेका छैनाँै ।

आगामी महाधिवेशनमा पार्टी अध्यक्षको दाबी गर्नुहुन्छ कि गर्नुहुन्न ?
यो कुनै दाबी गर्ने विषय होइन । म पार्टीमा निरन्तर काम गर्दै आएको व्यक्ति हुँ । सबै कुरा मेरो चाहनाले मात्रै हुँदैन । देशभरीका कार्यकर्ताले के भन्छन् भन्ने कुरा हो । त्यसबेलाको परिस्थिती र आवश्यकताले के भन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । म क्रियाशिल रहिरहेँ भने अगाडि बढ्नुपर्छ । क्रियाशिल रहिन भने नहुन सक्छ । दुई वर्ष पछि हुने महाधिवेशनका बारेमा अहिले नै भन्नु हुँदैन ।

तर तपाई दुईपटक महासचिव भइसकको व्यक्ति, अब त अध्यक्षका लागि तयार भएर बस्नुपर्ने बेला भएन ?
मेरो अगाडि दुईवटा विकल्प छन् । कि त सामान्य जिम्मेवारीमा ओर्लनुपर्छ । या थप जिम्मेवारी लिएर जानुपर्छ । यसको फैसला त देशभरीका नेता कार्यकर्ताले गर्ने हो । मेरो चाहनाले हुँदैन । तर म पदलाई केन्द्रमा राखेर चलिरहेको छैन । म मिसनमा केन्द्रित भएर चलिरहेको छु । मेरो अन्तरहृदयको कुरा यही हो । मैले पाएको जिम्मेवारी पूरा गर्ने विषयमा मात्रै चिन्तित हुन्छु ।

तपाई रक्षामन्त्री, नेपालको सुरक्षा नीति परवर्तन गर्ने विषयमा केही सोच्नुभएको छ ?
मैले रक्षा मन्त्रालयका बारेमा बुझ्दैछु । कुनै पनि कुरा आवश्यकताअनुसार बदल्नुपर्छ । सुरक्षा परिषदलाई व्यवस्थित बनाउनुपर्ने छ । नेपाली सेनाको संरचनालाई पुनः संरचना गर्नुपर्ने छ । आउने दिनमा रक्षा मन्त्रालयलाई थप व्यवस्थित बनाउने कुरामा म अगाडि बढ्छु ।

नेपालको रक्षा मन्त्रालयको भूमिका प्रभावकारी देखिएन नि ?
पहिलादेखि नै राजनीतिक अदुरदर्शी नेतृत्वका कारण यस्तो भएको हो । रक्षा मन्त्रालय मुलुकका लागि राणनीतिक महत्व राख्ने मन्त्रालय हो । यसको महत्व बढाउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्