Logo

अनुगमनमा मन्त्रीको मनपरीः जन्मदिनमा सरकारी खर्च !



काठमाडौं १७ कार्तिक । काठमाडौं । अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ ।

‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएकोसमेत भेटिएको छ,’ कार्यालयका एक उच्च अधिकारी भन्छन् । स्रोतका अनुसार अधिकांश मन्त्रीको अनुगमन प्रतिवेदनसमेत विश्वासयोग्य छैन ।

कतिपय मन्त्रीले घरायसी, व्यक्तिगत र पार्टीको काममा खर्च गरेको रकमसमेत सरकारी अनुगमनमा गएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भुक्तानीका लागि निवेदन दिएका छन् ।

प्रधानमन्त्रीसहित हाल २५ मन्त्री छन् । उनीहरूले असारदेखि असोज मसान्तसम्ममा जिल्ला भ्रमण र अनुगमनका नाममा ४० लाख ४० हजार ८३७ रुपैयाँ बुझिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयमा अझै दर्जन बढी मन्त्रीको भ्रमण भुक्तानीको निवेदन दर्ता छ ।

पछिल्लो समयमा मन्त्रीहरूले जिल्ला भ्रमणको क्रमलाई तीव्रता दिएको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यो अवधिमा मन्त्रीको इन्धनमा मात्रै ४१ लाख ८ हजार ३७३ रुपैयाँ सकिएको छ ।

यस्तै, मन्त्रीको तलबमा १ करोड ७१ लाख ४७ हजार १ रुपैयाँ र सञ्चार महसुलमा २ लाख ३१ हजार ४८२ रुपैयाँ सकिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् ।

उनले जिल्ला भ्रमण र अनुगमनको नाममा चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

जिल्ला घुमघाम गर्नेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि अग्रस्थानमा छन् । उनले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७० रुपैयाँ सकेका छन् ।

मन्त्रीहरूले जिल्ला भ्रमण सकेर फर्केपछि अनुगमनको उपलब्धिसहितको प्रतिवेदन अनिवार्य रूपमा प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । तर, अधिकांश मन्त्रीको प्रतिवेदन झारा टार्ने खालको रहेको कार्यालय स्रोतले जनाएको छ । -राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot