Logo

फेसबुकविरुद्ध कानुनी कारबाहीको प्रक्रिया



काठमाडौँ,५ पुस । अमेरिकाले फेसबुकविरुद्ध पहिलोपटक महत्त्वपूर्ण कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।राजधानी वासिङ्टन डीसीका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यका साथ फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन्।

फेसबुकले चाहिँ डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्यायाधीवक्ताले बुधवार दर्ता गरेको मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ।महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौँ प्रयोगकर्ताका व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख गरिएको छ।फेसबुकका क्रियाकलाप र लापरबाहीका विषयमा यस अघि पनि केही अनुसन्धानहरू भइसकेका छन्।

फेसबुकका एक प्रवक्ताले चाहिँ आफ्नो फर्म विरुद्धको अभियोगको अहिले अध्ययन भइरहेको बताएका छन्।उनलेभने अभियोगका सम्बन्धमा वासिङ्टन डीसी र अन्य स्थानमा रहेका कानुनविद्हरूसँग परामर्श लिने काम भइरहेको छ।

पछिल्लो अभियोगका अतिरिक्त फेसबुकमाथि अमेरिकाको न्याय मन्त्रालय, सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन र फेडेरल ट्रेड कमिशन जस्ता आयोगहरूले छानबिन गरिरहेका छन्।ब्रिटेनमा चाहिँ क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिवाना गरिएको थियो।त्यो ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम जरिवाना थियो।

फेसबुकको सुरक्षा कमजोरीका विषयमा आयरल्याण्डमा पनि अनुसन्धान जारी छ।त्यहाँ पनि फेसबुक समस्यामा पर्न सक्छ।फेसबुकका अनेक सुरक्षा कमजोरीहरूमाथि अनुसन्धान गरिरहेको आइरिस तथ्याङ्क सुरक्षा नियामक निकायले फेसबुकलाई झन् धेरै समस्यामा पार्ने देखिएको छ ।सो अनुसन्धान युरोपको नयाँ गोपनीयता सम्बन्धी नियमहरूको कार्यान्वयनको पहिलो, महत्त्वपूर्ण र ठूलो परीक्षण मानिएको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्