Logo

‘जनतालाई सुविधा पुग्नेगरी प्रदेशको राजधानी तोकिने महराको विश्वास’



काठमाडौँ, २१ पुस । सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गरेका छन् ।

रापती समाज काठमाडौँको १२ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै महराले पूर्व बर्दघाटदेखि पश्चिम राजापुरका जनतालाई न्याय हुने गरी प्रदेशसभाले राजधानी तोक्नुपर्ने बताए ।

उनले भने, “प्रदेशसभाले प्रदेश नं ५ का जनताको सुविधालाई ध्यानमा राख्दै उचित निर्णय लिनेछ ।” साहित्यिक, साङ्गीतिक र शैक्षिक रुपमा राप्तीका जिल्ला निकै अगाडि रहेको बताउँदै उनले आफ्ना क्षमता पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले राप्ती क्षेत्रका जनताको सहयोगका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको राजधानी दाङ बनाउन सक्दो प्रयत्न गर्ने बताईन् ।

सो अवसरमा समाजको विभिन्न तहतप्कामा बसेर सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सामजिक अभिनन्दन गरिएको थियो । सभामुख महराले राष्ट्रियसभा सदस्य वली, संविधानविद् डा भीमार्जुन आचार्य, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतलाई सम्मान गरेका थिए ।

सो क्रममा समाज र बालाजुस्थित कोहिनुर बोर्डिङ स्कुलबीच प्रत्येक शैक्षिक सत्रमा राप्तीका दुई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot