Logo

ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा आगलागी, १० खेलाडीको मृत्यु



काठमाडौं, २६ माघ । ब्राजिलको एक फुटबल क्लबमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ।  राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा भएको आगलागीमा परी फुटबलरसहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

ज्यान गुमाउनेमा ६ युवा खेलाडी र ४ जना क्लबका कामदार छन्। घटनामा परी तीन खेलाडी घाईते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।

ब्राजिलियन टेलिभिजन टिभी ग्लोबका अनुसार एकेडेमीका १४ देखि १७ वर्षसम्मका खेलाडीहरू थिए। ब्राजिलको सबै भन्दा ठूलो क्लबसमेत रहेको फ्लामेङ्गो अहिले ब्राजिलमा जारी सिरि ए तालिकामा दोस्रो स्थानमा छ। क्लबले पाँच पटक लिग जितेको छ। साथै अन्तर्राष्ट्रिय स्तरमा समेत प्रसिद्ध छ। ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन।

आगलागीका क्रममा खेलाडीहरु निद्रामै रहेको बुझिएको छ।  आगलागीको कारणबारे केही खुल्न सकेको छैन। आगलागीले क्लबको खेल मैदान प्याराफिट ध्वस्त भएको तस्बिरहरु सामाजिक सन्जालमा सार्वजनिक भएका छन्।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्