Logo

स्पेनिस ला लिगा : रियल मड्रिड दोस्रो स्थानमा उक्लियो



काठमाडौं, २७ माघ । रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

रियललाई जिताउने कस्मिरो, रामोस र बेलले एक–एक गोल गरे। एथ्लेटिकोका लागि ग्रिजम्यानले एक गोल फर्काए।

खेलको १६ औं मिनेटमा कस्मिरोले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाए। तर, त्यो अग्रता धेरै बेर रहेन। एथ्लेटिको मड्रिडका लागि ग्रिजम्यानले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफको अन्तयतिर गोल गर्दै पाहुना टोली रियल मड्रिडले पुनः खेलमा अग्रता लियो। खेलको ४२ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा रियल २-१ ले अगाडि रह्यो।

दोस्रो हाफमा केही आक्रमक खेलेको एथ्लेटिकोले गोल गर्न सकेन। खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। त्यसपछि रियल मड्रिडको निरन्तरको आक्रमण र अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिँदा एथ्लेटिको खेलमा फर्किन सकेन।

खेलको ८२ औं मिनेटमा मिडफिल्डर टेये थोमस दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि एथ्लेटिको मड्रिड थप दबाबमा पर्‍यो।

१० खेलाडीमा सीमित एथ्लेटिकोले त्यसपछि कुनै पनि गोलको मुभ बनाउन सकेन। र अन्तमा पाहुना टोलीले खेल ३-१ ले जित्यो।

जितपछि निकै समयदेखि निरन्तर दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लियो। २३ खेलबाट रियल मड्रिडको ४५ अंक छ भने समान खेलबाट एथ्लेटिको मड्रिडको ४४ अंक छ।

ला लिगाको यस सिजनका २३ खेलमा रियलले १४ मा जित निकाल्दा ६ खेलमा हार व्यहोरेको छ भने ३ मा बराबरी खेलेको छ ।

एक खेल कम खेलेको बार्सिलोना ५० अंकका सहित लिगको शीर्ष स्थानमा छ। लगातार दुई खेलमा हार व्यहोरेपछि एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको हो।

ला लिगाको यस सिजनका सुरुका कही खेलमा उत्कृष्ट प्रदर्शन गरेको रियल मड्रिडले बीचमा खराब प्रदर्शन गर्दा छैटौं स्थानमा पुगेको थियो। पछिल्ला खेलमा निरन्तर जित निकाल्दै दोस्रो स्थानमा उक्लिन सफल भएको हो।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्