Logo

‘सिण्डिकेट तोड्न पूर्ण रुपमा सफल भएँ’



काठमाडौं, ५ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्ती रघुवीर महासेठले २४ वर्षदेखि लागू भईरहेको सिन्डिकेटको व्यवस्था तोड्न आफू पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् ।

मन्त्री महासेठले आफ्नो पहिलो वर्षको कार्यकाल समीक्षा गर्दै सिन्डिकेट हटिसकेपनि धेरै मानिसहरूले सिन्डिकेटलाई आ-आफ्नै तरिकाले व्याख्या गरेको उनको भनाइ छ।  मन्त्री महासेठले भने,‘सिन्डिकेट हट्यो भन्नुको मतलब कुनै पनि ठाउँमा रुट परमिट लिन समितिले सिफारिस गर्नुपर्ने अवस्था अहिले छैन। एनजिओ जसरी चलेका सवारीसाधन सञ्चालन गर्ने कम्पनी अहिले कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएका छन्।’

सार्वजनिक सवारी साधनमा हुने भिडभाड कम नभएको अवस्थालाई पनि सिण्ठिकेटसँग जोडेको भन्दै उनले यसप्रतिको बुझाइमा फरकपना रहेको धारणा राखेका थिए।

त्यसैगरी, विद्यमान कानुनअनुसार रातो नम्बर प्लेटले राखेको सवारी साधनले यात्रु बोक्न नपाउने भन्दै मन्त्री महासेठले पठाओ र टुटल कम्पनी कानुनविपरीत चलिरहेको समेत बताए।

‘पठाओ र टुटलका विषयमा गुनासो आएपछि छानबिनका लागि समिति गठन भएको छ। जहाँसम्म मलाई लाग्छ उनीहरु कानुन विपरीत नै चलिरहेका छन्। यस्तो सेवा दिन चाहने कम्पनीले कम्पनी ऐनअनुसार दर्ता हुनु आवश्यक छ। अध्ययन समितिले प्रतिवेदन बुझाएपछि हामी अन्तिम निर्णय लिन्छौं,’ उनले भने।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot