Logo

‘बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी देखिएपनि कडा कारवाही गर्नुपर्छ’



संखुवासभा, १७ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसकै नेता दोषी देखिएपनि कारवाही हुनेपर्ने बताएका छन्।

मंगलबार प्रेस युनियन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको विषयमा प्रश्न गरिएको थियो। सिंहले भने, ’कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजाय दिनुपर्छ।’ कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको उनको दाबी थियो।

फरक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्म विपरित अगाडि बढिरहेको आरोप लगाए। ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ,’ उनले भने। उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot