Logo

समाजवादीले सरकार नछोडेसम्म एकता असम्भव : राजपा



वैशाख २८, काठमाण्डौ । समाजवादी पार्टी र राजपाबीच एकताको तयारी भइरहेको चर्चा छ । समाजवादीले सह अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनकत्वमा वार्ता समिति पनि गठन गरेको छ ।

तर मनिष सुमनकाअनुसार समाजवादी पार्टी सरकारबाट नबाहिरिएसम्म एकता हुँदैन । राजपाले सुरुमा केपी ओली प्रधानमन्त्री हुँदा समर्थन गरे पनि संविधान संशोधनको माग पूरा गर्न सरकार तयार नभएको भन्दै समर्थन फिर्ता लिएको थियो ।

त्यसैले पनि राजपा समाजवादी पार्टी पनि सरकारबाट बाहिरिए हुन्थ्यो भन्ने चाहन्छ । त्यसैले राजपाका नेताहरुले समाजवादीलाई सरकारबाट बाहिरिन दबाब दिइरहेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम जनता जान्न चाहन्छमा ऋषि धमलासँग कुरा गर्दै सुमनले समाजवादी पार्टीले दोहोरो चरित्र देखाएको अरोप लगाए । मधेशी जनताको माग पूरा गराउनका लागि संविधान संशोधन आवश्यक रहेकाले समाजवादी पनि त्यसका लागि तयार हुनुपर्ने सुमनको तर्क छ ।

यसअघि तत्कालिन संघीय समाजवादी फोरमले सरकारलाई संविधान संशोधनको माग राख्दै सरकारलाई सहयोग गरेको थियो । समर्थनपछि फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा गए ।

अहिले यादवलाई सरकारबाट बाहिरिन मन लागिरहेको छैन । त्यसो त फोरम र नयाँ शक्तिबीचको एकताले पनि उपेन्द्रलाई सरकारबाट बाहिरिन दबाब परेको छ । यद्यपी डा. बाबुराम भट्टराईले देखिने गरी केही नबोली मौन बसेका छन् ।

राजपाले दिएको दबाबले भट्टराईलाई पनि सहज भएको अनुमान गर्न सकिन्छ । तर एकता गर्न आवश्यक ठानेको खण्डमा जुनसुकै बेला सरकारबाट बाहिरिएर समाजवादीले नयाँ समिकरण नबनाउला भन्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot