Logo

काठ, दाउरा बेच्न ‘नेपाल वन निगम’



काठमाडौं २० जेठ । वन तथा वातावरण मन्त्रालयले काठ, दाउरा बिक्रीका लागि ‘नेपाल वन निगम’ खडा गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाका अनुसार टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन) र वन पैदावार विकास समिति गाभेर पेट्रोलियम पदार्थ बिक्रीका लागि आयल निगमजस्तै काठ, दाउरा बिक्री गर्न वन निगम बनाउन लागिएको हो ।

निगमले काठ बिक्रीवितरणका लागि मुलुकभर डिलर र डिपो बनाउनेछ । त्यसमार्फत सर्वसाधारणले सहज ढंगले काठ पाउने मन्त्रालयको अपेक्षा छ । गत वर्ष साउन १८ मा मन्त्रिपरिषद्ले टीसीएन र समिति गाभ्ने निर्णय गरेको थियो । यी दुवैले करिब चार दशकदेखि काठदाउरा बेच्दै आएका छन् । टीसीएनले वन मन्त्रालय र वन विभागसँग गोलिया काठ मागेर चिरान गरी उपभोक्तालाई बेच्दै आएको छ भने समितिले आफैं वृक्षरोपण गरी हुर्काएर कटान अनि बिक्री गर्दै आएको छ । समितिले सरकारलाई ८ करोडभन्दा बढी राजस्व बुझाउँदै आएको छ भने १५ करोड रुपैयाँभन्दा बढी कमाइ गर्छ ।

समितिमा स्थायी ७५, करार ५ र ज्यालादारीमा २ सय कार्यरत छन् भने टीसीएनमा स्थायी र अस्थायी गरी करिब १ सय ६० कर्मचारी छन् । निगममा दुवैतिरका कर्मचारी गाभिनेछन् । टीसीएन र समितिका नाममा रहेको सम्पत्तिसमेत निगममै जानेछ । टीसीएनसँग मुलुकका केही स्थानमा जमिनमात्र छ भने समितिसँग झापा, सर्लाही, महोत्तरी र रौतहटमा करिब २० हजार हेक्टरमा विभिन्न प्रजातिका रूखसहितको जंगल छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot