Logo

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कर्मचारीको आधिकारिक ट्रेड युनियनको १० लाख सहयोग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भने,“सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक टे«ड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् ।’

उनले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न नसक्ने बताए । सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उनले बताए ।

कतिपयले माग राख्नुअघि नै आन्दोलन गर्न शुरु गर्छन्”, प्रधानमन्त्री ओलीले भने, “हामीले लोकतन्त्र ल्याइसक्यौँ । लोकतान्त्रिक प्रणाली बसालिसक्यौँ । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।”

प्रधानमन्त्री ओलीले अब आन्दोलन नभई सिर्जनशील भई देशका लागि योगदान गर्ने समय आएको बताए । उनले चुहावट र अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि स्पष्ट गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्