Logo

गरिबी निवारणमा चिनियाँ प्रयास उदाहरणीय



बेइजिङ, मंसिर ३ । चीनको हपै प्रान्तस्थित लाइस्वै जिल्लाको नान्यु गाउँका बासिन्दाको सन् २०१६ सम्म प्रतिव्यक्ति वार्षिक आय तीन हजार तीन सय चिनियाँ युयानमात्रै थियो। आम्दानीको स्रोत राम्रो नहुँदा नान्यु गाउँका ५९ परिवारका एक सय तीनजना सदस्य अति विपन्नको सूचीमा थिए। सो गाउँका बासिन्दा रोजगारीको खोजी गर्दै बेइजिङसम्म भौंतारिन्थे। गाउँमा भएको उब्जाउ जमिनको पनि उपयोग भइरहेको थिएन।

स्थानीयलाई खान तथा लाउनसमेत धौधौ हुन्थ्यो। सन् २०१४ मा चिनियाँ गरिबी निवारण कोष र सामसुङ ग्रुपले संयुक्त रुपमा नान्यु गाउँमा गरिबी निवारण परियोजना सुरु गरे। यसबाट गाउँको परिचय नै फेरिएको परियोजना संयोजक छांगले बताए। ‘अहिले नान्यु गाउँको गरिबी निवारणमात्रै भएको छैन, गाउँकै परिचय फेरिएर पर्यटकीय गन्तव्य बनेको छ,’ उनले भने, ‘दुई वर्षमै यहाँका स्थानीयको प्रतिव्यक्ति आय दोब्बरभन्दा धेरै वृद्धि भएको छ।’ उहिले उनीहरुको प्रतिव्यक्ति आय ७ हजार २ सय चिनियाँ युयान पुगेको छ।

‘पहिला गाउँमा प्रशस्त प्राकृतिक स्रोत भए पनि यहाँका जनताले लाभ लिन सकिरहेका थिएनन्। तर अहिले धेरै परिवर्तन भइसक्यो,’ उनले भने, ‘पहिला काम खोज्दै बेइजिङतिर भौंतारिनेहरु अहिले गाउँ फर्केर होमस्टे तथा अन्य व्यवसाय गर्दै आइरहेका छन्।’

गरिबी निवारण परियोजनाले गाउँका सबै सदस्य एकीकृत गरेर सेयरमार्फत लगानी गर्न सिकाएको उनले बताए। परियोजनाले सुरुवाती चरणमा गाउँका सबै सदस्यबाट एकएक चिनियाँ युयान संकलन ग¥यो। अर्कोतर्फ चिनियाँ गरिबी निवारण कोषमार्फत सस्तो दरमा सहुलियत ऋण लिएर विभिन्न आयमूलक क्षेत्रमा लगानी गरियो।

परिणामस्वरुप स्थानीयले काम पाउनुको साथै आफैं सेयर सदस्य भएर लाभ लिन थाले। यसबाट स्थानीयको जीवन स्तरमा सुधार आएको छांगले बताए। सन् २०१८ मा नै नान्युगाउँमा गरिबी अन्त्य भएको घोषणा गरियो।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot