Logo

दुर्गममा पुग्दैन ‘इन्हेलर’



काठमाडौँ, ५ मंसिर । दम रोगको उपचारमा प्रयोग भइरहेको ‘इन्हेलर’ विधिबाट ग्रामीण र दुर्गम क्षेत्रका बासिन्दा वञ्चित छन् । सहरी क्षेत्रमा इन्हेलरमा औषधि राखेर सुँघ्ने विधिबाट उपचार सुरु भएको तीन दशक भइसक्दा पनि ग्रामीण क्षेत्रमा पुरानै विधि ९औषधि सेवन० बाट उपचार भइरहेको छ ।
तालिम प्राप्त जनशक्ति अभाव रहेको र इन्हेलर प्रयोगलाई झन्झटका रूपमा लिने गरिएकाले ग्रामीण क्षेत्रमा यो विधि लागू हुन नसकेको चिकित्सकहरूले बताएका छन् । ‘जनशक्ति नै नभएकाले औषधि नपठाइएको हो,’ स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखाका डा। फडिन्द्रप्रसाद पराजुलीले भने । सरकारी स्वास्थ्य संस्थामा इन्हेलर प्रयोग गर्न सिकाउने तालिम प्राप्त जनशक्ति नरहेकाले जनशक्ति तयार पार्ने काम भइरहेको र दुई वर्षभित्र सबै जिल्लामा जनशक्ति र औषधि पुर्‍याउने उनले बताए । ‘अहिले स्थानीय तहका स्वास्थ्यकर्मीलाई औषधि प्रयोग गर्ने तालिम दिइरहेका छौं,’ उनले भने ।

दमरोगमा प्रयोग हुने इन्हेलर दुर्गमका स्वास्थ्य संस्थामा पुग्न नसकेको वीर अस्पतालका छातीरोग विशेषज्ञ डा। अशेष ढुंगानाले बताए । ‘औषधि सेवन गर्ने विधि पुरानो हो, यो कम प्रभावकारी हुन्छ,’ उनले भने, ‘जबसम्म इन्हेलर विधि सबैको पहुँचमा हुँदैन, तबसम्म यो रोगको मृत्युदर कम गर्न सकिँदैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणले नेपालको १२ प्रतिशत जनसंख्यालाई श्वासप्रश्वास ९सीओपीडी० को समस्या भएको देखाएको छ । नेपालमा ३४ लाख जनसंख्या यो रोगबाट प्रभावित रहेको परिषद्ले गत वर्ष गरेको अध्ययनमा उल्लेख छ । सर्वेक्षणअनुसार कर्णाली प्रदेशमा दमरोगका बिरामी बढी छन् । ‘समयमै उपचार गरे निको हुने दीर्घ दमखोकी ९सीओपीडी० अकाल मृत्युको हुने मुख्य कारण बन्ने गरेको छ,’ डा। ढुंगानाले भने ।

विश्व स्वास्थ्य संगठनको गत वर्षको तथ्यांकअनुसार सीओपीडी विश्वमै अकाल मृत्युको चौथो कारण बनेको छ । संगठनले सन् २०३० सम्म यो रोग अकाल मृत्युको मुख्य कारण बन्ने अनुमानसमेत गरेको छ । संगठनको ग्लोबल बर्डेन अफ डिजिज सर्वेक्षण २०१६ अनुसार विश्वमा २५ करोड व्यक्ति सीओपीडीबाट प्रभावित छन् । नेपालमा प्रत्येक १० मध्ये एक जनालाई दमरोगबाट प्रभावित रहेको परिषद्को अध्ययनमा उल्लेख छ ।

बिरामीमध्ये तीन प्रतिशतले मात्रै सही उपचार पाइरहेको छातीरोग विशेषज्ञ ढुंगानाले बताए । ‘यो रोग लागेपछि बिरामीलाई सास फेर्न गाह्रो हुन्छ । उमेरकै कारण यस्तो भएको भन्दै बूढाबूढी उपचारमा जाँदैनन्,’ उनले भने, ‘अस्पतालसम्म आइपुग्दा हृदयाघात भएर ज्यान जाने स्थिति भइसकेको हुन्छ ।’ श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै अस्पताल जाने हो भने उपचारपछि निको हुने उनले बताए । उनका अनुसार यो रोग लागेका बिरामीले औषधि सेवन गर्नसमेत मान्दैनन् । ‘सीओपीडीमा प्रयोग हुने इन्हेलरप्रति नकारात्मक सोच भएकाले सहरका बिरामीले पनि प्रयोग गर्न मान्दैनन्,’ उनले भने, ‘यो औषधिको प्रयोगले कृत्रिम सास लिने बानी हुन्छ भन्ने भ्रम छ । यस्तो केही होइन । औषधि प्रयोग गर्दा सामान्य जीवनयापन गर्न सघाउँछ ।’

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा। निरज बमका अनुसार ३० देखि ४० उमेर समूहका मानिस यो रोगबाट प्रभावित छन् । शिक्षण अस्पताल भर्ना हुनेमध्ये श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी रहेको उनले जानकारी दिए । ‘कलकारखाना र उद्योगमा काम गर्ने, घरेलु चुलोमा खाना पकाउने र धूमपान गर्ने व्यक्तिमा यो रोग बढी देखिएको छ,’ उनले भने, ‘कसैलाई वंशाणुगत पनि हुन्छ ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot