Logo

राष्ट्रिय सभा चुनावको मतपत्र तयार



काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदैछ ।

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान केन्द्र तोकिएको छ । प्रदेशको उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र तोकिएकाले कतिपय प्रदेशमा राजधानीभन्दा फरक स्थानमा मतदान हुनेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रदेशसभा सदस्यले मतदान गर्ने र स्थानीय तहका सदस्यले मतदान गर्ने दुईथरीको मतपत्र तयार गरिएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसीले विवरण र निर्वाचन चिह्न उल्लेख हुने श्रेष्ठले बताए ।

प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीन जना, प्रदेश २ मा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चार जनाका लागि निर्वाचन हुँदै छ । वागमती प्रदेशमा महिला र अन्य समूह गरी दुई जना, गण्डकी प्रदेशमा महिला र अन्य समूह गरी दुई जना, प्रदेश ५ मा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी तीन जनाका लगि चुनाव हुन लागेको हो । त्यस्तै, कर्णाली प्रदेशमा महिला र अन्य समूह गरी दुई जना र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई जनाका लागि चुनाव हुँदै छ । प्रदेश १ मा ३ सय ६७, प्रदेश २ मा ३ सय ७९, वागमतीमा ३ सय ४८, गण्डकीमा २ सय ३०, प्रदेश ५ मा ३ सय ५, कर्णालीमा मा १ सय ९८ र सुदूरपश्चिममा २ सय २९ मतदाता छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot