Logo

मधेस आन्दोलनका १३ वर्षः के सोचेको के भयो अहिले



काठमाडौं, १० माघ । विक्रम सम्वत् २०६४ माघ ५ गते प्रथम मधेस आन्दोलनको क्रममा सिरहाको लाहानमा रमेश महतोको हत्या भएपछि चर्किएको मधेस आन्दोलनले मूलधारका ठूला भनिने राजनीतिक दलकै धरातल मधेसमा खुम्च्याइदिएको थियो । त्यो आन्दोलन भएको माघ ५ गते १३ वर्ष पूरा भएको छ । हरेक वर्षको माघ पाँच गतेलाई मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको बलिदानी र पहिलो मधेस आन्दोलनको सम्झनामा मधेसमा बलिदानी दिवस मनाइँदै आए पनि यसपटक भने मधेस आन्दोलनबाट राजनीतिमा स्थापित हुन पुगेका दल र तिनका नेतामा यस दिवसप्रति नै उदासीनता देखा परेको छ ।

आन्दोलनमा ऊर्जा भर्न विगत आन्दोलनका क्रममा आन्दोलन हाँकेका दलले गरेका प्रतिबद्धता पूरा गर्नमा अनुदार देखिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी दलमाथि शहिद परिवार नै आक्रोशित रहेको आइतवार सिरहाको सोनबरसामा आयोजित सभामा स्पष्ट देखिएको थियो । प्रदेशमा सरकार हुँदा हुँदै पनि शहिद परिवारलाई वास्ता नगरेको र राजपा तथा समाजवादीले शहिद परिवारलाई दिने भनी घोषणा गरेको ५० लाख पनि नदिएको भन्दै शहिद परिवारले आयाजित समारोहमा आक्रोश व्यक्त गरेका थिए ।

१३ वर्षअघि मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को अगुवाइमा ‘स्वायत्त मधेस एक प्रदेश’लगायत अन्य राजनैतिक मुद्दा बोकेर सिंगै मधेस आन्दोलित बनेको थियो र १९ दिनसम्म चलेको सो आन्दोलनले पूरै मधेसलाई अस्तव्यस्त बनाएको थियो । आज त्यो आन्दोलन हाँकेका तत्कालीन राजनैतिक संगठनहरु राजपा र संघीय समाजवादीका नाममा नेपालको राजनीतिमा सक्रिय छन् । मधेसमा अधिकार प्राप्तिका लागि वि.सं. २०६३ यताका तीनवटा आन्दोलनमा एक सय १७ जना शहिद भएको तथ्यांक छ । २०६३-६४ मा ५४ जना, २०७२-७३ मा ५६ जना, २०७३ मा पाँचजना (सप्तरी) र २०७४ मा दुईजना शहिद भएका छन्– जसमध्येकै पहिला शहिद रमेश महतो हुन् ।

अहिले समयक्रमसँगै आन्दोलनको विरासत पनि कमजोर हुँदै गइरहेको भान हुन थालेको छ । यसरी हेर्दा मधेस आन्दोलनका सम्झनामा हरेक वर्ष मनाइने यो ‘बलिदानी दिवस’ यतिबेला औपचारिकतामा सीमित हुँदै गएको देखिन थालेको छ । गत वर्षदेखि औपचारिक रूपमा माघ ५ को दिनलाई बलिदानी दिवस मनाउने निर्णय गरेको प्रदेश सरकारको आयोजनमा यस वर्ष सरकारी कार्यक्रमका रूपमा वीरगन्जमा मनाइए पनि यसले आफूलाई औपचारिकतामै सीमित गरेको तत्कालीन मधेस आन्दोलनमा सक्रियतापूर्वक हिस्सा लिएका अगुवा कार्यकर्ताको गुनासो रहेको छ भने यसको अवसरमा सार्वजनिक विदासमेत दिएको छ ।

प्रदेश सरकारले बलिदानी दिवस मनाए पनि मधेस आन्दोलन सुरु भएको दिनमा समेत मधेसवादी दलमा त्यस्तो ऊर्जा देखिएन । अहिलेको अवस्था हेर्दा लाग्छ मधेसमा आन्दोलन नै भएको थिएन । गत निर्वाचनमा मधेसवादी दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मधेस आन्दोलनको मुद्दा तथा शहिदको नामको फाइदा उठाउन कुनै कसर छाडेन र त्यसले केही न केही काम पनि गर्यो । तत्कालीन संघीय समाजवादी फोरम र राजपा नेपालले राम्रो जित पनि निकाल्यो ।

मधेस आन्दोलनबाट मधेसले धेरै कुरा पायो भने धेरै थोक गुमायो पनि । प्रदेश दुईका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मधेस आन्दोलनबाट मधेसले के गुमायो– त्यस विषयमा जानकारी नरहे पनि देशले संघीय गणतन्त्र पाएको बताए । मधेस आन्दोलनले देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र लाभ बताउँछन् । देशमा संघीयता मधेस आन्दोलनको दृष्टिकोणले उपलब्धिपूर्ण रहेको विश्लेषक लाभको भनाइ छ । मधेस आन्दोलनकै कारण अहिले नागरिकताको विषय राष्ट्रिय मुद्दा बनेको लाभले बताए । मधेस आन्दोलनबाट धेरै कुरा पाए पनि मधेसवादी दलले आजको दिनको महत्व बिर्सदै गएको आरोपसमेत लागेको छ । ‘मधेस आन्दोलनकै बलमा देशमा संघीयता तथा समावेशिता स्थापित भयो’ लाभले भने– ‘मधेस आन्दोलनकै बलमा मधेसवासीको पहिचान पनि स्थापित भएको छ ।’ काठमाडौंमा बसेका व्यक्तिको मनोविज्ञानमा समेत परिवर्तन भएको र मधेसवासी अब आफूलाई मधेसी कहलाउनमा गर्व गरिरहेको विश्लेषक लाभ भन्छन् ।

मधेस मामिलाका जानकारहरु मधेसवादी दलले मधेस आन्दोलनलाई भजाएर खाने गरेको आरोपसमेत लगाउँदै आइरहेका छन् । प्रदेशमा अहिले मधेसवादी दलको सरकार भएता पनि शासन गर्ने प्रवृति पुरानै शैलीको रहेको आरोप लाग्दै आएको छ । मधेसवासीले चाहेका कुरा अहिलेसम्म पूरा हुन नसक्नु, मधेसमा चाहेजस्तो विकासको अनुभूति हुन नसक्नु यो सबै मधेसवासीले गमाएको राजनीतिक विश्लेषक लाभले बताए । मधेसवासी काठमाडौँका शासकभन्दा पृथक् शासन सोचेका थिए तर सो शासनभन्दा केही पृथक् अनुभूति मधेसवासीले गर्न नसकेको लाभले बताए ।

यता, राजपा नेपालका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले मधेस र मधेसवासीले आन्दोलनबाट केही नगुमाएको बरु मधेसी नेताले विश्वास गुमाएको स्वीकार गरे । मधेसका मुद्दा पूर्ण रूपमा पूरा नभएसम्म सत्ता समीकरणबाट मधेसवादी दललाई बच्न उनले सुझाव दिए । मधेसवादी दलहरु पटक÷पटक सम्झौता गरेर सरकारमा गए तर जुन उद्देश्यका साथ उनीहरु सरकारमा गए, त्यसको उपलब्धि प्राप्त गर्न नसकेको सिंहको भनाइ छ । यता मधेस आन्दोलनमा आफ्नो छोरा र ससुरा गुमाएका प्रदेशसभा सदस्य बबिता चौधरीले नेताहरुलाई शहिद परिवारलाई भेट्नसम्मको फुर्सद नरहेको आरोप लगाए । प्रदेश सरकारले औपचारिक रूपमा बलिदानी दिवस मनाइरहे पनि शहिद परिवारलाई यसको जानकारीसमेत नगराएको चौधरीले बताए । उनले भने– ‘मलाई प्रदेशसभा सदस्यको नाताले बलिदानी दिवसबारे म्यासेज आए पनि शहिद परिवारको नाताले कुनै प्रकारको जानकारी आएको छैन ।’

शहिद परिवारसँग भेट्ने समयसमेत नदिने मधेसवादी दलका नेता तथा मन्त्रीले शहिद परिवारका लागि कुनै प्रकारको व्यवस्था नगरेको भन्दै उनले भने– ‘मधेस आन्दोलनको शहिद परिवारजनलाई कम्तिमा रोजगारी दिनुपर्ने थियो तर अहिलेसम्म यस्तो कुनै व्यवस्था भएको छैन ।’

उनले विभिन्न निजी विद्यालयमा शहिदका बच्चालाई निःशुल्क शिक्षा दिने व्यवस्था गरिएको भनिए पनि त्यो लागू नभएको बताए । मधेस आन्दोलनको क्रममा शहिद भएका केही शहिदको स्मारकको निर्माण गरे पनि त्यो नामको लागि मात्र रहेको बताए । मधेसवादी दलले शहिदको नाममा भजाउने काममात्र गरेको बताए । तेस्रो मधेस आन्दोलनको क्रममा महोत्तरी जिल्लाबाट राजपा नेपालकी समानुपातिक सांसद रहेकी चौधरीका छोरा रोहन चौधरी र ससुरा गणेश चौधरीले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका थिए ।-विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot