Logo

पूर्वपञ्च एकताको इतिहास, जति जुट्यो त्यति नै फुट्यो



फागुन २८, काठमाण्डौ । नेपालका राजनीतिक दलहरुबीच हुने फुट र जुटको श्रृखला नौलो होइन । सबै जसो दलहरु विभाजित हुँदै फेरी एकीकरण हुँदै आएको इतिहास छ । राप्रपा पनि त्यस्तै हो । पञ्चायतिकाल देखि नै राप्रपा फुट्ने जुट्ने हुँदै आएको छ । नेताहरुको स्वार्थ पूरा गर्नकै लागि पार्टीलाई प्रयोग गर्दै आएका हुन् ।

२०७३ चैत ३० गते राप्रपाबाट छुट्टिएको डा. प्रकाशचन्द्र लोहनी समूह र २०७४ साउन २२ गते राप्रपाबाट छुट्टिएको पशुपतिशमशेर राणा समूह पुनः एकै ठाउँमा आइपुगेका छन् । पञ्चायती पृष्ठभूमिका नेताहरुले खोलेको पार्टी राप्रपा यहाँसम्म आइपुग्दा पटक–पटक फुट्दै जुट्दै आएको छ । ३० वर्षे पञ्चायतीमा सत्तामा शक्तिशाली बनेको पञ्च नेताहरु मिलेर २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ जेठ १५ गते राप्रपा स्थापना गरेका थिए ।

त्यसबेला सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वका दुई समूह थिए । २०४८ सालको संसदीय निर्वाचनमा यी दुई समूह दुई पार्टीका रुपमा मैदानमा उत्रिएका थिए । त्यसबेला थापा नेतृत्वको राप्रपाले एक र चन्द नेतृत्वको राप्रपाले तीन सिट जितेका थिए । २०४९ माघ २४ गते दुई समूहबीच एकीकरण भयो । एकीकृत पार्टीले २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा २० सिट जितेर बलियो उपस्थित जनाएको थियो । त्यसपछि थापा र चन्द दुवै प्रधानमन्त्री हुन सफल भए । तर आपसमा तिक्तता बढेपछि २०५४ जेठ १६ मा राप्रपा फेरि फुट्यो । चन्दले राप्रपा राष्टवादी नामक पार्टी खोले ।

तर, २०५६ सालको निर्वाचनअघि चन्द पुनः राप्रपामै मिल्न आए । फेरी सूर्य बहादुर थापाले ३० फागुन ०६१ मा ‘राष्टिय जनशक्ति पार्टी’ गठन गरेको घोषणा गरे । यता २०६२ पुसमा कमल थापाले ‘राप्रपा नेपाल’ नामक पार्टी गठन गरे । त्यसपछि पशुपति समशेर राणा नेतृत्वको राप्रपा तथा सूर्यबहादुर थापा नेतृत्वको राष्टिय जनशक्ति पार्टीबीच एकीकरण भयो र २०७० जेठ १५ मा राप्रपा बन्यो । उता २०७० पुस १६ गते थापा नेतृत्वको ४५ केन्द्रीय सदस्य रहेको राप्रपा नेपाल विभाजित भयो ।

२० केन्द्रीय सदस्यले नयाँ पार्टी ‘नेपाली राप्रपा’ दर्ता गरे । तर, निर्वाचन आयोगले यो पार्टीलाई मान्यता दिएन । आफू अनुकुल बनाउन बहुमत र्पुयाउने र निकाल्ने श्रृङ्खला चलिरहेको बेला राप्रपाका सबै गुटबीच २०७३ मंसिर ६ गते एकीकरण भयो । त्यसको ३ महिनापछि काठमाडौंमा एकता महाधिवेशन पनि भयो । तर, एकता महाधिवेशन सम्पन्न भएको दुई महिना नबित्दै लोहनीले चैत ३० गते पार्टी परित्याग गरे । त्यसको केही समयपछि उनले एकीकृत राप्रपा राष्ट्रवादी नामक पार्टी दर्ता गरे ।

लोहनीले परित्याग गरेको चार महिना बित्न नपाउँदै राणाले विधानतः केन्द्रीय कार्यसमिति र संसदमा ४० प्रतिशत र्पुयाउँदै २०७४ साउन २२ गते राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरे । २०७४ को तीन तहका निर्वाचनमा प्रतिष्पर्धामा जाँदा नराम्रो पराजय बेर्होयो । त्यसपछि पुनः एक भएर बलियो शक्ति बनाउने अभियानमा लागेको राप्रपाका समूहहरु अहिले सहमतिमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot