Logo

ओलीको अस्पताल बसाईले नेकपा सुस्त, गुटगत भेला जारी



फागुन २८, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकसाता यता अस्पतालमा उपचारार्थ छन । ओली अस्पतालमा भर्नाभएपछि पार्टी र सरकारको काम सुस्त भएको छ । न मन्त्रीपरिषद बैठक बस्यो न नेकपाको कुनै कमिटिको बैठक । बरु नेताहरु गुट बलियो बनाउनतर्फ केन्द्रित भएका छन् ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि गत फागुन १९ गते भिडियो सन्देशमार्फत आफू अस्पतालमा भए पनि सरकार र पार्टीको काममा कुनै असर नपर्ने बताएका थिए । तर त्यसयता पार्टीको सांगठनिक एकता र एमसीसीलगायत थुप्रै विषय अलपत्र छ । नेताहरुविच औपचारिक छलफलसम्म हुन सकेको छैन ।

नेकपा संसदीय दलका उपनेता समेत रहेका नेता सुवास नेम्वाङले पार्टीमा दुवै अध्यक्ष बराबरी हैसियतमा रहेको कारण पार्टीको निर्णयमा एक अध्यक्षको मात्रै सहभागिता उचित नहुने बताए । ओली अस्पतालबाट फर्किएपछि सवै कुराले निरन्तरता पाउने नेम्वाङ बताउँछन ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीलाई गति दिन चासो नदिएको कतिपयको टिप्पणी छ । अध्यक्ष दाहाल आफ्नो निवास खुमलटारमै आराम गरीरहेका छन । उता पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सचिवालयको निर्णय पनि अलमलमा परेको छ । नेता गौतमले राष्ट्रिय सभामा जान अहिले पनि नेताहरुलाई दवाव दिइरहेका छन । उक्त निर्णयमा प्रधानमन्त्री ओलीले नै असन्तुष्ट जनाएपछि अव अध्यक्ष ओली अस्पतालबाट फर्किएपछि मात्रै सचिवालय बैठक बसेर टुंगो लगाउने उपनेता नेम्वाङले विश्वास व्यक्त गरे ।

पार्टीमा कुनै सुस्तता नआएको भन्दै पार्टीको आन्तरिक काम र संसद अन्तरगत विभिन्न समितिहरुको समेत बैठक चलीरहेकोले सरकार र पार्टीको काम नै भएन भन्नु गलत हुने नेकपा नेतृ राधा ज्ञवालीको भनाई छ ।

हुन त अर्का अध्यक्ष दाहाललाई कार्यकारी अधिकार प्राप्त हंदा समेत पार्टीको बैठक किन बोलाएनन भन्ने कुरा सोचनीय छ । अध्यक्ष दाहाललाई कार्यकारी अधिकार सहितको जिम्मेवारी दिएपनि यसअघि दाहालले मंसिर १० गते ओली एपेन्डिसाइटिस भएर अस्पताल भर्ना भएका बेला सचिवालय बैठक राखेका थिए ।

अहिले भने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका शिर्ष नेताहरु पनि चुपचाप छन । प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष अस्पतालमा भएर हो वा भित्रभित्रै आफुहरुलाई शत्तिशाली बनाउनेमा केन्द्रित भएको हो भन्ने दुवै तरिकाबाट बहस र विश्लेषण समेत हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot