Logo

महामारीमा पनि चाटर्ड विमानमा २६ लाख कमिसन



काठमाडौं, २० चैत्र । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलिय राजदूतावासले गरेको चाडर्ट फ्लाइटमा कमिसनको चलखेल भएको खुलेको छ । सिधै राजदूतावासले पत्र लेखी चाटर्ड विमानको आग्रह गरेपछि टिकट इस्युको नाममा एउटा ट्राभल एजेन्सी घुसाएर चलखेल भएको खुलेको हो ।

अष्ट्रेलियन राजदूतावासले पत्र लेख्दै नेपाल एयरलाइन्सलाई प्रति घन्टा कति रकममा उडान भर्न सकिन्छ भनी कोटेशन माग्यो । नेपाल वायु सेवा निगमले कोटेशन पठायो । दुवै पक्षबीचमा सम्झौता हुने बेलामा भने एउटा ट्राभल एजेन्सी घुकाएर कमिशनको खेल भयो ।
प्रतिघन्टा १८ हजार १ सय डलरका दरले उडान भरेको खुलेको छ । साँढे २५ घन्टाको यात्रामा ४ लाख ५२ हजार ५ सय डलरमा सम्झौता भएकोमा घुसाइएको ट्राभल एजेन्सीले पाँच प्रतिशत नियमले कमिशन पाउने बनाइएको छ । त्यो कमिशनको रकम निगमका केही अधिकारी र ट्राभल एजेन्सी मिलेर लिने गरी मिलाइएको विश्वस्त सूत्रले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ । चाटर्ड वापत्को कमिशनबाट साँढे २२ हजार डलर लिइएको छ ।

बोन ट्राभल्सलाई अष्ट्रेलिया जाने चाटर्ड विमानको टिकट इस्युको जिम्मा दिएर चलखेल भएको छ । यसमा नेपाल वायु सेवा निगमकै जिम्मेवार अधिकारीहरुको मिलेमतो भएको पत्ता लागेको छ । निगमले चाटर्ड विमानको टिकट आफै गर्न सक्थ्यो । अहिलेको अवस्थामा ट्राभल एजेन्सीहरु चल्ने अवस्था पनि थिएन । अष्ट्रेलियन राजदूतावासलाई व्यवस्थापन गर्न भन्न पनि सक्थ्यो । यात्रुहरु सबै अष्ट्रेलियाली नागरिक भएको र राजदूतावासले नै तोकेको व्यक्तिहरु थिए । यस्तो अवस्थामा पनि एजेन्ट ल्याउने काम भयो ।

निगमका एक पूर्व अधिकारीले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार चाटर्ड विमानमा ट्राभल एजेन्सी घुसाउन मिल्दैन । दुई पक्षबीच सम्झौतामा कुरा मिलाइन्छ । अष्ट्रेलियाली राजदूतावासले चाटर्ड विमानमा आफ्ना साँढे दुई सयभन्दा बढी यात्रु लाँदा शुल्क उठाएर गरेको हो भने चाहिं टिकटको जिम्मा अरुलाई लगाउने अवस्था बन्ने ती अधिकारीले बताए । तर, नेपाल वायु सेवा निगमले आफै एजेन्ट अरुलाई दिन नमिल्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot