Logo

विद्युत् उत्पादन ४५ प्रतिशत कम



काठमाडौँ, २८ चैत । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ ।

यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ । नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् । कात्तिक/मङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ ।

गर्मी लाग्दा हिमालको हिउँ पग्लेर पानीको मात्रा बिस्तारै वृद्धि हुँदै जाने भए पनि वैशाखको दोस्रो हप्ताबाट गर्मी बढेसँगै हिमनदीमा पानीको मात्रा बढ्ने गरेको प्राधिकरणले जनाएको छ । हुन त मुलुकमा ‘लकडाउन’को अवस्थाले औद्योगिक क्षेत्रका माग शून्य नै छ । त्यसले गर्दा बिजुलीको आन्तरिक माग व्यवस्थापन गर्न भारतबाट प्राधिकरण दैनिक २०० मेगावाटको हाराहारीमा मात्र आयात गर्ने गरेको छ । जब कि यो अवधिमा विगतमा दैनिक ५०० मेगावाटसम्म आयात गर्ने गरेको थियो ।

नदीमा पानीको मात्रा घटेसँगै विद्युत् उत्पादन घटिसकेपछि प्राधिकरणको आफ्नो आयोजनाबाट ४३७ मेगावाट (६,८७४ मेगावाट आवर), निजी क्षेत्रको आयोजनाबाट २३७ मेगावाट (५,३४८ मेगावाट आवर) र भारतबाट ३०२ मेगावाट (३५५५ मेगावाट आवर) आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरणका भार सम्प्रेषण केन्द्र प्रमुख सुरेश भट्टराईले बताएका छन् । मुलुकमा लकडाउनको अवस्थामा घरेलु उपभोगलाई व्यवस्थापन गर्न प्राधिकरणलाई सहज भएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् । ४५ प्रतिशतभन्दा बढी उत्पादन कमी भइरहेका बेला भारतबाट पनि कम आयात गर्नुपरेको उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot