Logo

सरकारले अहिले गर्दै गरेको प्रयत्नलाई हामी प्रोत्साहन गर्छौं, साथ दिन्छौं : विश्वप्रकाश शर्मा (भिडियोसहित)



काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदमलाई सफल नै भनिहाल्दापनि सुधार गर्नुपर्ने पक्षमा सरकारले कमजोरी देखाएको टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार कति सफल ? कति असफल भनेर सोधेको पहिलो प्रश्नमा प्रवक्ता शर्माले भने-“मैले सरकार सफल भनें भने सरकारले सुधार गर्नुपर्ने पक्षमा कमजोर हुन्छ । पूरै असफल भनें भने सरकारले गरिरहेको काम, प्रयत्नलाई हतोत्साहित गरेको हुन्छ । र, त्यसले एक ढंगको निराशा सिर्जना गर्छ । त्यसकारण यसलाई दुईवटै ढंगले वस्तुगत भएर हेर्नुपर्छ । यो बेला आरोप लगाउने बेला होईन् । र, कसैको आरोपमा जवाफ लगाउने बेलापनि होईन् । तर, जे कमजोरी छ त्यसलाई वस्तुगत राख्यो भने त्यसले के सन्देश दिन्छ ।”

शर्माले सरकारले गरेको कमजोरीमा आफूहरुले सुरुदेखि नै जुन जुन देशमा संक्रमण भएको छ ती-ती देशका उडान रोक्न भनेको तर सरकारले त्यो काम नगरेको सुनाए । उनले भने,”हामीले जुन जुन देशमा कोरोनाको संक्रमण भएको छ, ती ती देशसँग अन्तर्राष्टिय उडान बन्द गरौं भनेका थियौं । बोर्डर सिल गरौं भनेका थियौं । यो कुरा हामीले आज भनेको होईन् । आजभन्दा ७९ दिनअघि भनेका थियौं । एक लाखभन्दा बढि मानिसको मृत्यु भयो । अहिलेपनि हामीसँग पर्याप्त सामान छैन् । कमजोरीलाई हामीले सुधार गरौं ।”

नेपालमा सबैभन्दा पहिले कोरोनाको संक्रमित देखिएको माघ १० गते भएको उनले सुनाए । उनले भने,”यो भनेको यति लामो समय गुज्रिसक्यो । संक्रमित यतिकैमा टुँग्गियोस । कसैको पनि मृत्यु नहोस । यो हामी सबैको कामना हो । तर, मानिलिउँ नेपालमा संक्रमण व्यापक रुपमा फैलियो भने हामीले गर्ने तयारी पर्याप्त छ त ? त्यो त छैन नि । काठमाडौंमा अहिले सय जना विरामी एकाएक भेटिएको अवस्थामा हामीसँग कति भेन्टिलेटर छ ? हामीले तयारी गर्ने कि नगर्ने ? विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिममा भएको भनेर सूचिकृत गरिसकेपछि हामीले कति ठाउँको परीक्षणको विस्तार गर्यौं ? कति आईसोलेशन वार्डहर तयार गर्यौं ? डक्टरलाई चाहिने पिपिई हामीले कति व्यवस्था गर्यौं ? हामीले पर्याप्त गरेका छैनौं । म प्रधानमन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु । उहाँ यो बेलामा अस्वस्थ भएरपनि उच्च मनोबलका साथ राष्टलाई ढाडस दिने प्रयास गरिरहनुभएको छ । तर, प्रधानमन्त्रीले सम्बोधन गर्दा यो बेलामा कुनै जवाफ दिने वा गरिरहेको छु भन्नु भन्दापनि अझै अपुग छ है, अझै अपुग छ हामी गरिरहेका छौं भनेर ढाडस दिनुपर्छ । प्रतिपक्षको यसमा पूरा साथ रहन्छ ।”

सरकारले कोरोनाविरुद्धको लडाईमा जे अभाव देखिएको थियो त्यसलाई पूर्ति गर्ने प्रयत्न गरेको पनि उनले सुनाए । उनले भने,”सरकारले गरेको कार्यलाई प्रोत्साहित गर्नुपर्छ । खासगरि सरकारको एउटा हात, प्रतिपक्षीको अर्को हात, दुई वटा हातले ताली बजाएर साथ दिँदै गर्दाखेरि यसको नेतृत्व गर्ने भनेको स्वास्थ्यकर्मीहरुले हो । अहिले तेस्रो विश्वयुद्ध चलेको छ भनेर माने हुन्छ । यसको नेतृत्व कुनै क्षेप्यास्त्र वा कुनै एटम बमले वा राजनीतिले होईन, यसको नेतृत्व चाहीँ स्वास्थ्यकर्मीहरुले गरिरहनुभएको छ । हामीले यसमा जित्नु छ । तर, के कुरा बुझ्नुपर्छ भने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त सामग्री पुगेको भए यो किसिमको कोकोहोलो हुँदैन थियो । जस्तो तपाईलाई एउटा कुरा भनौं बुटवलबाट एउटा लाश उठ्नलाई दश दिन लाग्यो नि । समयमै हामीले स्वास्थ्यकर्मीलाई पिपिईलगायत स्वास्थ्य सामग्री दिएको भए उनको जाँच गर्ने कुरामा कमजोरी हुँदैनथियो नि त ।”

उनले स्वास्थ्य सामग्री खरिद नै ढिलो भएको गुनासो पोखे । उनले भने,”भर्खर हामी खरिद गर्दैछौं । धेरै ढिलो गर्यौं । त्यसमा पनि कमसल चिज ल्यायौं । त्यसपछाडि स्वास्थ्य मन्त्रालयले नै के गर्यो ? त्यो जोसँग सम्झौता गर्यो, ओम्नीसँग । ओम्नीसँगको सम्झौता खारेज गर्यो । ७५ हजार जुन किट आयो, त्यो चाहीँ विश्व स्वास्थ्य संगठनले सर्टिफाई नगरेको किट आयो । धन्यवाद दिनुपर्छ दक्षिण कोरियाका नेपालीलाई जसले हामीलाई करोड रुपैयाँभन्दा बढिको किट्स पठाईदिनुभयो । त्यसकारण सरकारले अहिले गर्दै गरेको प्रयत्न जे छ, यसलाई हामी प्रोत्साहन गर्छौं । यसलाई हामी साथ दिनुपर्छ भन्छौं । तर, जे कमजोरी छ त्यसलाई क्रमशः सुधार गर्दै जानुमा नै हाम्रो भोलिको सफलता छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot