Logo

ओलीले भनेजस्तै ‘बामदेव बेलुन हुन्’ जसले जति फुक्न सक्यो त्यति ठूलो बन्ने ?



शम्भु श्रेष्ठ, समाचार टिप्पणी । नेपालको राजनीतिमा बेला कुबेलामा चर्चामा आउने नाम हो, बामदेव गौतम । कुनै ज्यातिषले उनको चिना हेरेपछि ‘तपाइँको प्रधानमन्त्री बन्ने योग छ’ भनेर भनेपछि तिनै ज्योतिषको कुरा पत्याएर उनले प्रधानमन्त्री हुने सपना देखेका छन् । नभन्दै, गत बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेवलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेपछि गौतम ज्योतिषले भनेको कुरा साँचो पो रहेछ भनेर दंग परेकाछन् । पाँच वर्ष अगाडि ज्योतिषले प्रधानमन्त्री बन्छ भन्नु र अहिले आएर प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा उनको नाम प्रस्ताव गर्नुले ज्योतिषको भविष्यवाणी मिल्न खोजे जस्तो देखिन्छ ।

प्रधानमन्त्री ओलीले ज्योतिषको कुरा थाहा पाएरै गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका त होइनन् भन्ने आशंका पनि छ । किनभने, प्रधानमन्त्री ओली ज्योतिष नभएपनि ज्योतिषले मान्छे हेरेर उसको मनोदशाबारे कसरी बोल्नुपर्छ भन्ने कुरा राम्रैसँग थाहा छ । ओली ज्योतिष नभएपनि ओलीले पु¥याइदिने भएपछि गौतम यता जाने कि उता भनेर दोधारमा पर्ने परेन । गौतमका लागि अहिलेको जस्तो संयोग सायद कमै जुर्ला । जुवाडेहरुले पनि दाउ हेरेरै च्याँखे थाप्ने गर्छन् । अहिले पनि गौतमले जुवा हारे भने उनका ज्योतिषले फेरि भन्ने छन्, ‘तपाइँमाथि साढे सातको दशा छ । यो दशाले नछोडेसम्म तपाइँको प्रधानमन्त्री बन्ने योग छैन ।’ त्यसपछि नेपालको राजनीति वामदेव प्रवृतिबाट सदाका लागि मुक्त हुनेछ । नेपाली जनताको चाहना पनि यही नै हो । जनताको यही चाहना बुझेर प्रधानमन्त्री ओलीले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको हुनुपर्छ ।

अहिले सत्तारुढ नेकपाभित्रको विवाद वामदेवलाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने होइन । बर्दियाबाट प्रतिनिधि सभा निर्वाचन हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने परिकल्पना यो संविधानले गरेको छैन । यो संविधान बनाउँदा वामदेव स्वयंम् संविधान सभाका सदस्य थिए । आफैँले हस्ताक्षर गरेको संविधानविरुद्ध आफैँ उभिनु भनेको नैतिकहिन कुरा हो । जब राजनीतिमा लाग्नेहरु नैतिकता बिर्सन्छन्, तब तिनीहरुको पतनको दिन सुरु हुन्छ ।

२०५४ सालमा वामदेव गौतमले नेकपा एमाले फुटाएर नेकपा (माले) भन्ने नयाँ पार्टी दर्ता गरे । त्यसबेला दृष्टिसँग अन्र्तवार्तामा केपी ओलीले भनेका थिए, ‘वामदेव भनेका बेलुन हो, जसले जति फुक्न सक्यो, त्यति ठूलो बन्छ । तर, त्यसको तौल र आयतन केही हुँदैन ।’ वामदेवका बारेमा यति गहिरो अध्ययन गरेका प्रधानमन्त्री ओलीले अहिले आएर उनको ‘कानमा चिनी हाल्नु’को पछाडि वामदेवले आफू शून्यमा झरेपछि मात्र थाहा पाउनेछन् ।

किनभने, सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गर्दा त्यो निर्णय मान्दिनँ भन्ने प्रधानमन्त्री ओलीले दुई महिनापछि वामदेवलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्नुको पछाडि ओलीको आफ्नो विरोधीलाई कमजोर बनाउने अस्त्र मात्र हो । समाधान होइन ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot