Logo

पिसीआर परिक्षण २८ हजार, आरडिटी ६७ हजार नाघ्यो



जेठ ४, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ९५ हजार ९ सय २९ को कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म २८ हजार १ सय ६० जनाको पिसीआर परीक्षण र ६७ हजार ७ सय ६९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६९ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट २ हजार २० वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा ९१८६, प्रदेश दुईमा ६०००, बागमति प्रदेशमा ११२५७, गण्डकी प्रदेशमा ६९३२, प्रदेश पाँचमा ८७५१, सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ र कर्णाली प्रदेशमा ७३७२ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १८ हजार ३ सय ५७ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा २ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब ११ हजार ९ सय ४८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइसोलेसनमा ३ सय ४६ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ३५ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो । प्रदेश एकमा २४ जना, प्रदेश दुईमा १२२, बागमति प्रदेशमा ७१, गण्डकी प्रदेशमा १, प्रदेश पाँचमा १ सय १७ जना र सुदुरपश्चिम प्रदेशमा ११ जना आइसोलेसनमा रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३९ हजार ५ सय ९८ पुगेको छ । तिमध्ये ३ सय ८२ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot