Logo

नेपाल-भारतबीच सिमा विवादमा वार्ताको ढोका बन्द भएको हो ?



काठमाडौं, ७ जेठ । नेपालले नयाँ नक्शा जारी गरेकै दिन भारतले आपत्ती जनाएको छ । उसले नक्शालाई अस्वीकार गर्ने भनेको छ । नेपालले नयाँ नक्शामा समेटेका भुभाग भारतको रहेको दाबी गरिरहँदा कुटनीतिक वार्ताको विषय पनि उल्लेख गरेको छ । तर, यसका लागि वातावरण बनाउन शर्तको संकेत समेत गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा भारतको औपचारिक धारणा सार्वजनिक गर्दै भनिएको छ, ‘हामी आशा गर्छौं कि नेपालका नेताले विद्यमान सीमाका विषयमा उठेका विषयको समाधानका लागि कुटनीतिक वार्ताको सकारात्मक वातावरण बनाउनेछन् ।’ उसले भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न समेत भनेको छ ।

भारतले कुटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउन भन्नुलाई अर्थपूर्ण मानिएको छ । उसले आज जारी गरिएको नक्शाबारे उल्लेख गर्दै यो कदमलाई विद्यमान सीमाका विषय कुटनीति वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिको विरुद्ध हुने भनेको छ । यसको अर्थ भारतले अब सीमाको विषयमा कुटनीतिक वार्ताका लागि शर्त अगाडि सार्न सक्छ । त्यो शर्त उसले कुटनीतिक माध्यमले राख्न सक्ने सम्भावना देखिएको छ । यसको संकेत आजको विदेश मन्त्रालयको विज्ञप्तिले पनि गरेको छ ।

भारतले चीनसँग जोड्ने लिंकरोड लिपुलेक हुँदै खोलेपछि नेपालमा सर्वत्र विरोध हुँदै आएको छ । त्यसको नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाइसकेको छ । भारतीय राजदुत विनयमोहन क्वात्रालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलाएर कुटनीतिक नोटिफिकेशन जनाइसकेका छन् ।

नेपालले मन्त्रिपरिषद बैठकबाट लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको राजनीतिक र प्रशासनिक नक्शा पारित गरेर आज औपचारिक रुपमा जारी गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा नेपालको भुमि फिर्ता ल्याएरै छाड्ने अठोट गरेका थिए । उनले भारतको चर्को आलोचना समेत गरेका थिए । ओलीको भारतप्रतिको आक्रोश र भारतको पछिल्लो धारणाले दुई देशबीचको सम्बन्धमा फेरि संकट ल्याउने अवस्था बन्न थालेको छ । तत्काल वार्ताको सम्भावना पनि नदेखिएकाले विश्वासको संकट अझ गहिरिने सम्भावना बलियो छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot