Logo

क्वारेन्टाइन बन्यो कोरोना कारखाना !



काठमाडौं, १८ जेठ । सरकारले नै हात उठाउने अवस्था आउन लाग्यो । अस्ति स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा अब कोरोना संक्रमितलाई घरमै आइशोलेशनमा राख्नुपर्ने अवस्था आउनसक्ने बताए । अस्पताल कोरोना संक्रमितले भरिदै गएको समेत जानकारी दिए ।

नभन्दै शुक्रबार राति धरानस्थित वीपी प्रतिष्ठान लगिएका कोरोना संक्रमित रातभर अस्पताल बाहिर राखिए । भोलिपल्ट बल्ल ठाउँ व्यवस्था गरियो भनेर राखियो । अस्पतालमा झन् खतरा बढेपछि झ्यालबाट फाल हालेर भाग्नेहरु देखिए । पर्सा जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमित अस्पतालबाट भागे गोलीसम्म हान्न सक्ने भन्यो । तर, सर्वोच्च अदालतले यो निर्णयमा नगर्नु नगराउनु भनी आदेश जारी गर्यो ।

अवस्था यति भयावह बन्दै छ कि कोरोना संक्रमित गनी साध्य नहुने हुनलाग्यो । गत हप्ता प्रतिदिन संक्रमित संख्या बढेको बढ्यै छ । चार दिन लगातार रेकर्ड नै तोड्यो । अब विस्तारै संक्रमित संख्याभन्दा पनि मृत्यु संख्या गन्नुपर्ने खतरा पो आइलाग्यो ।

सरकार सम्हालेका र सत्तारुढ दलका नेताहरु सत्ताको लडाईंमा समय बिताउन पुगे । अनेकन बखेडा आयो । प्रधानमन्त्री केपी शर्मा ओलीले के के तत्व हुन्छ भन्दै रिसर्चरले जसरी बोले । आखिर कोरोनाविरुद्ध तयारी के रहेछ भन्ने अहिले देखिदैछ । सरकार अब नसकिने भयो भनेजसरी हात उठाउने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले दोष अन्त थोपरिहाले । भारतले टेष्ट नगरी पठायो भने । त्यो पनि संसदमा ।

सरकारले कोरोना रोकथामका लागि ठाउँ ठाउँमा बनाएको क्वारेन्टाइन झन् घातक भए । क्वारेन्टाइन रोग सार्ने अखडा पो बने । हरेक दिन कोरोना भाइरसका सबैजसो संक्रमित क्वारेन्टाइनमा रहेकाहरु भेटिएका छन् । उनीहरुमा संक्रमण सरेको बुझिदैछ । न बस्ने राम्रो व्यवस्था न शौचालयको । कोचाकोच मान्छे राखेर बिजोग पारिएको छ ।

क्वारेन्टाइनमै तीन जनाको प्राण उडिसकेको छ । आज विहान बाजुरामा २ वर्षीया बालिकाको ज्वरो, पेटको समस्या देखिइरहँदा मृत्यु भयो । उनको कोरोना भाइरसको पुष्टि भएको छ । बालिका बाबुआमासँगै क्वारेन्टाइनमा थिइन् । भारतबाट आएको ८ दिनमै छोरीको मृत्युले बाबुआमा पीडामा परेका छन् । आमालाई पनि कोरोना पुष्टि भएको छ ।

१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएको थियो ।

बाँकेको नरैनापुरका २५ वर्षीय युवक ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका थिए । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लाग्यो ।

क्वारेन्टाइनमा राखिएकाहरु संक्रमित हुने देखि धमाधम ज्यान गुमाउन थालेपछि प्रश्न उठेको छ । क्वारेन्टाइनकी कोरोना कारखाना ? भन्ने जस्तो भयो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot