Logo

बिरामीको मृत्युः पोलिक्लिनिक तनावग्रस्त



लहान, ५ असार : लहानस्थित लीलामदन पोलिक्लिनिकमा चिकित्सकको लापरबाहीले आज उपचारका क्रममा प्रसूतिको बिरामी मृत्यु भएको आरोप लागेको छ । पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि पोलिक्लिनिक तनावग्रस्त भएको हो ।

पोलिक्लिनिकमा प्रसूति गराउन आएकी सप्तरीको खडक नगरपालिका–३ की २३ वर्षीया मौसम खातुनको चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै पीडित परिवारले अस्पताल अगाडि प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

करिब २५ दिनअघि लिलामदन पोलिक्लिनिकमा पेटको शल्यक्रिया गराएकी खातुनको दुई वटा टाँका चुडेपछि पुनः उपचारका लागि लिलामदनमै ल्याइएको थियो । चिकित्सकले खातुनलाई पुनः शल्यक्रिया गर्नुपर्ने भन्दै दोश्रो पटक शल्यक्रिया गर्ने क्रममा लापरवाही गरेकाले मृत्यु भएको आरोप पीडित परिवारले लगाएका छन् ।

आफैँले शल्यक्रिया गरेको पेटमा पुनः रकम कमाउने लोभमा शल्यक्रिया गर्न खोज्दा यस्तो अप्रिय घटना भएको आरोप लगाउँदै पीडित परिवारले पुनः शल्यक्रियाका लागि रु ३० हजार नगद लिएको बताएको छ । खातुनको मृत्यु भएलगतै लिलामदनका चिकित्सक डा दिलीप साह फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot