Logo

राजश्व अनुसन्धानले ६ करोड राजस्व छल्नेको नाम किन गोप्य राख्याे ?



काठमाडौं, २९ असार । राजस्व चुहावटमा संलग्न एक व्यक्तिको नाम राजस्व अनुसन्धान विभागले गोप्य राखेको छ । ६ करोड ६९ लाख राजस्व चुहावटमा संलग्नको अभियोगमा मुद्दा दायर गरेको विभागले त्यसमा संलग्न व्यक्तिको नाम गोप्य राखेको हो ।

विभागले स्थायी लेखा नम्बर ३०३१६७९१९ रहेको श्याम ग्लास इण्डष्ट्रिजविरुद्ध ०७७ असार २२ गते उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दायर गरेको छ ।

यसअघि विभागले व्यक्तिको नामलगायत सम्पूर्ण विवरण खुलाएर त्यसबारे जानकारी दिने गरेको थियो । तर विभागले यसपटक श्याम ग्लास इण्डष्ट्रिजविरुद्ध ६ करोड ६ लाख २५ हजार २ सय ८२ रूपैयाँ बिगो कायम गरी उक्त बिगो असुलउपर गरी जरिवाना तथा कैद माग दाबी गरेको छ । तर श्याम ग्लास इण्डष्ट्रिजका सञ्चालक को हुन् भन्नेबारे केही खुलाएको छैन ।

श्याम ग्लास इण्डष्ट्रिजले सरकारलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको र कम तिर्ने उद्देश्यले उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरेर राजस्व छलेको विभागको भनाइ छ ।

त्यसैगरी, महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर मुद्दामा ६३ लाख ८ हजार ७ सय ६ विगो कायम गरी उक्त बिगो असुलउपर गरी जरिवाना र कैद गर्न माग गरिएको छ । यसको पनि सञ्चालकको नाम भने गोप्य राखिएको छ ।

उता, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा बिल बिजक प्रबिष्ट नगर्नेविरुद्ध पनि विभागले जरिवाना गरेको छ । काठमाडौंमा कपडालगायतका वस्तु आयात तथा थोक बिक्री कारोबार गर्ने विभिन्न १४ फर्मलाई विभागले ३० लाख ७५ हजार जरिवाना गरेको हो ।

‘विभिन्न १४ फर्महरूले व्यावसायिक प्रयोजनका मालवस्तु बिक्री गर्दा मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा विवरण प्रविष्टी नगरी मालवस्तु बिक्री–वितरण गरेकोले उक्त फर्महरूलाई राजस्व चुहावट ऐन, २०५२ को दफा १३ ग को उपदफा (४क) बमाजिम ३० लाख ७४ हजार रुपैयाँ जरिवाना गरी असुल उपर गरिएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।-साँघुबाट 



प्रतिक्रिया दिनुहोस्

Screenshot