Logo

राम मन्दिर र धर्म भाजपाको आत्मा हो, ओलीजीले त्यो आत्मामाथि प्रहार गर्नुभयो- डा. नारायण खड्का



काठमाडौं, ३१ असार । नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई गम्भीर मानेका छन् । ओलीले नेपाल-भारतबीचको सम्बन्ध तनावग्रस्त हुँदा अर्को बहस छेडिदिएको बताए । नेता खड्कासँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
देशको राजनीति कतातिर जाँदैछ ?
देशको राजनीति हाम्रो प्रधानमन्त्री श्री केपी ओलीजीले एकपछि अर्को गरेर तताइराख्नुभएको छ । उहाँ दिनप्रतिदिन अत्यन्तै विवादित अभिव्यक्तिहरु दिनुहुन्छ, विद्धताहरु प्रकट गर्नुहुन्छ । ठाउँ, कुठाउँमा नयाँ नयाँ कुराहरु दिइराख्नुभएको छ । नेपाल–भारतको सम्बन्ध एकदमै तनावग्रस्त भइरहेको अवस्थामा फेरि नयाँ बहस छेड्दिनुभयो । यस्ता विषयले गर्दा एकातिर कोरोना अर्कोतिर बाढीपहिरो फेरि प्रधानमन्त्रीजीको बेलामौकाका वाणीहरुले गर्दा नेपाल–भारत सम्बन्ध अत्यन्त चिसिएर गइरहेको छ ।
प्रधानमन्त्रीले भन्नु भएको अयोध्या नेपालमा र राम नेपालमा जन्मेका हुन् भन्ने कुरा सही होइन र ?
अब त्यो कुरा सही/बेसही के हो ? यस्तो कुरा प्रधानमन्त्री ओलीजीले १९९० तिर चन्द्रशेखर भारतका प्रधानमन्त्री हुँदाखेरी जब विवाद चरम रुपमा पुग्यो अयोध्याको । खासगरी बाबरी मस्जिदमा १५०० ई.सं. तिर बाबर मुगल सम्राटका कमान्डरले मन्दिर भत्काएर मस्जिद बनाए भन्ने कुराको विवाद नेपालमा जंगबहादुर उदय भएको थियो । त्यसबेलादेखि भारतमा विवाद भइराखेको थियो । त्यो विवाद बढ्दै जाँदा झन्डैझन्डै सय सवा सय वर्षदेखि भारतमा बहसको विषय भइरहेको थियो खासगरी अयोध्या कहाँ छ भन्ने कुरा । यद्यपि प्रधानमन्त्री केपी ओलीजीले भनेका केही कुरामा हिन्दु इतिहासकारहरु नै आरोस शर्मा जस्ता मान्छेहरुले पनि यो नेपाल अथवा अफगानिस्तानमा पनि पर्न सक्छ । यही हो भन्ने कुरा कुनै ऐतिहासिक र धार्मिक ग्रन्थमा पाइँदैन भनिएको पाइन्छ । ओलीजीले भनेका कुराहरु १९९० को दशकतिर बहस छेडिरहेको थियो, नेपालमा हो कि अफगानिस्तानमा हो कि भन्ने कुरामा । त्यतिखेर चाहीं उठाउँदा अलिकति सान्दर्भिक हुन्थ्यो । अब सर्वोच्च अदालतले ८, ९ महिना अगाडि लामो बहसपछि राम मन्दिर भत्काएर बाबारी मस्जिद बनाइएको रहेछ । बाबारी मस्जिद निर्माण गर्नको लागि भारत सरकारले जमीन दिएर निर्माणको लागि संसद्बाटै पारित गरेर मस्जिद निर्माणको लागि ट्रष्ट नै खडा गरिसकेको छ । यतिबेला आएर विवाद प्रधानमन्त्रीको तहमा बिना प्रमाण गर्नु सान्दर्भिक जस्तो लाग्दैन । यद्यपि हाम्रा ऐतिहासिक तथ्य, प्रमाणहरु । ठोरीको बाल्मिकी आश्रममा म आफै पुगेको छु । त्यहाँ केही संरचनाहरु छैनन् ।
प्रधानमन्त्रीले प्रष्ट रुपमा भन्नुभएको छ, वीरगन्जको पश्चिममा ठोरी छ भनेर होइन ?
नाम त नेपालमा भोजपुर छन्, उदयपुर, गाईघाट अनेक छन् । कतिपय नामहरु मिल्न सक्छन् । ऐतिहासिक तथ्यहरु पनि भेटिएलान् । तर, उहाँको एकदम कुतर्क कस्तो भने त्यतिबेला मोबाइल, टेलिफोन, सञ्चारमाध्यम केही थिएन ।
त्यतिबेला यातायातका साधन पनि थिएन राम कसरी सीतालाई लिन जनकपुर आउनुभयो होला ?
त्यसमा सात्विक शक्ति भएर हनुमानहरु उड्नेदेखि अनेक खालका वायुयानहरुको कल्पना गरेका बेला त्यो एउटा सासोत शक्ति प्रवाह भइराखेको थियो । अयोध्यादेखि जनकपुरसम्मको दुरी त्यतिखेर हिड्नै नसक्ने यात्रै गर्न नसक्ने भन्ने कुरा हुँदैन । त्यसैले यस्तो खालका तर्क ठीक भएन । फेरि प्रधानमन्त्रीले जस्तो लेभलमा बसेर यी बोल्ने कुरा होइन । फेरि ठोरीमा लब, कुशको चिन्हहरु छन् । त्यस बेला घोडा बाँधेका ढुंगाका चिन्ह, भान्छाघर आदिइत्यादि छ । त्यहीं पारिपट्टी भारतले बाल्मिकी आश्रम बनाएको छ । तर, नेपाल सरकारले केही पनि गरेको छैन । म एक पटक जाँदा आसपासमा बसेका दाजुभाइ दिदीबहिनीहरुलाई खानेपानीको सुविधा पनि थिएन । म मन्त्रिहरु हुँदा त्यहाँ खाने पानीको व्यवस्था गरिदिएको थिएँ । त्यसकारण हाम्रोतर्पmबाट केही पनि संरक्षण गरिएको छैन ।
प्रधानमन्त्रीले त भारतले हाम्रो संस्कृतिमाथि आक्रमण गर्यो भन्नुभएको छ नि ?
कसरी आक्रमण गरेको छ ? हामीले आफ्नो प्रमाणहरु खोजेर त्यसपछि आपसमा बसेर बहस, छलफल गर्न सकिने ठाउँहरु होलान् । ती ठाउँहरुबाट हाम्रा प्रमाणहरु लिएर गएपछि यहाँ यस्तो रहेछ भन्न सकिएला । हाम्रो हिन्दु धर्मको सभ्यताको यति ठूलो व्यापकता छ कि । त्यसकारण यसलाई कुनै विज्ञ टोली खडा गरेर अध्ययन अनुसन्धान गर्न सक्नुपर्छ । कतिपयको भनाइमा इन्डोनेसिया हो भन्ने पनि छ । अनुसन्धान गर्दै जाँदा भोलि नेपाल र भारतमा होइन यहाँ पो रहेछ भनेर प्रमाण ल्यायो भने के गर्ने ? त्यसकारण भारत सरकारले त्यति ठुलो बीजेपी जुन पार्टी छ । त्यो पार्टीको आत्मा जस्तो हो अहिलेको राम मन्दिर र धर्मको । धर्म उनीहरुको एउटा राजनीतिक स्तम्भ हो । त्यो आत्मामाथि हाम्रा प्रधानमन्त्री ओलीजीले प्रहार गर्नुभयो ।
तर, परराष्ट्र मन्त्रालयले त प्रधानमन्त्रीको वक्तव्यलाई राजनीतिक रुपमा नलिनुस् भनिसकेको छ नि ?
त्यस्तो पनि वक्तव्य हुन्छ । प्रधानमन्त्री लेभलबाट त्यस्तो केटाकेटी खालको वक्तव्य दिने हो ? प्रधानमन्त्रीले बोलेका कुरामा कुनै राजनीतिक आयाम नभएदेखि यसको बारेमा सिधैं एउटा पण्डितलाई बोल्न लगाउँदा भइहाल्थ्यो नि । हिन्दु धर्मका ज्ञाता, बाल्मिकी आश्रमका ज्ञाताहरुलाई बोल्न दिएको भए पनि हुन्थ्यो । फेरि भारतकै पहलबाट ट्रास्ट खडा गरेर निर्माण भइरहेको छ । डेढसय वर्ष पुरानो विवादबाट बल्लबल्ल अहिले निर्माण गर्दैछन् । त्यो पनि सर्वोच्च अदालतले फैसला गरेर । अनि यो अवस्थामा आएर प्रधानमन्त्री जस्तो व्यक्तिबाट बिना प्रमाण यहाँ पर्न सक्छ है भन्ने खालका कुरा गरेर झन् विवाद बढाइदिनु भएको छ ।
भारतीय जनता पार्टीको पनि कडा वक्तव्य आएको छ नि ?
भारतमा भएका नेपाली मित्रहरुले भारतीय मिडियामा भइरहेका कुराहरु मलाई पठाइरहनु हुन्छ । उनीहरुका एकपछि अर्को गरेर वक्तव्यहरु आइरहेका छन् । ओलीजीले यति ठूलो विवाद खडा गरिदिएर भारतसँग सम्बन्ध झन् बिगार्नुभयो । यसले उहाँलाई व्यक्तिगत रुपमा फाइदा भयो होला । किन कि भारतीय जनताले नेपालका प्रधानमन्त्री श्री खड्गप्रसाद ओली भनेर चिन्ने मौका पाए । तर, यस्तो कुराहरु गर्दा बडो होसियारपूर्वक प्रधानमन्त्रीको तहमा नभइकन हिन्दू धर्मका ज्ञाता, अथवा त्यो ठाउँका इतिहासविद्, पुरातत्वविद्हरुबाट अध्ययन गराएर यस्तो पनि छ है भनेको भए उनीहरुले पनि सामान्य रुपमा लिने थिए । भारतका नेता, मन्त्रीहरुले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्दा हाम्रो राष्ट्रवाद कति तातिन्छ । कपालका रौंहरु कति ठडिन्छन् । रगत कति तातिन्छ ? कति हामी रिसाउछौं, उफ्रन्छौं र कति गालीगलौज गर्दछौं । जहाँसम्म १९९० देखि राम मन्दिर भत्काएर बाबरी मस्जित बनाइएको भनेर विवाद भइरहेको छ । त्यो विवादमा कयौं मान्छेहरु दंगामा परेर मारिएका छन् । त्यसपछि सर्वोच्च अदालतले पनि निर्णय गरिसकेपछि हामीले पनि त्यसका तथ्य, प्रमाण जुटाएर त्यो राम मन्दिरको बारेमा एउटा पक्षलाई समातेर यहाँ पनि विवाद ग¥यो भन्न सकिन्थ्यो होला । फेरि प्रधानमन्त्रीले संस्कृतिमाथि भारतले अतिक्रमण ग¥यो भनिदिनुभयो । त्यसबेलाको राणमायणमा उल्लेख भएका ईश्वरीय शक्तिको बेलाका कुराहरु पनि थाहा होला । उहाँ अध्ययन पनि गर्नुहुन्छ ।
यसले गर्दा अब नेपाल–भारत सम्बन्ध झन् बिग्रिएको हो त ?
पहिला अलिअलि चिसिएको थियो । अब पुरै फ्रिज भयो । भारतले अब प्रधानमन्त्री खड्गप्रसाद ओलीजीको मातहतमा कुनै किसिमको वार्ता, संवाद गर्दैन । उहाँलाई अहिलेको नक्साको बारेमा कुनै ध्यान भएन । जमीन फिर्ता गराउने बारेमा उहाँको कुनै पहल छैन । नयाँ–नयाँ कुराहरु ल्याएर उहाँ अरुभन्दा म त धेरै नै जानकार छु भनेर बोलिदिनुहुन्छ । अस्ति एकताका भारतले चाहीं मलाई हटाउन आँट्यो भनिरहनुभएको थियो । प्रधानमन्त्रीको तहबाट उहाँले आफू जतिसुकै जानिफकार छु भने पनि यस्ता कुरा बोल्दै हिड्ने होइन । प्रधानमन्त्रीले बोलेका शब्द, शब्द केलाएर भारतमा होस् या नेपालमा तुरुन्त प्रतिक्रियाहरु आइहाल्छन् । यी सबै क्रियाकलाप हेर्दा प्रधानमन्त्रीलाई मैले छोड्नुपरेपनि म एउटा ठूलो राष्ट्रवादको झन्डा बेरेर छोड्छु भन्ने होला । अहिले किन बोल्नुपर्यो ? राजीनामा दिएर बाहिर निस्किएपछि यी सबै कुरा बोल्दा भइहाल्छ नि । त्यतिबेला राजनीतिक, विज्ञान, धर्म, संस्कार, संस्कृतिका बारेमा जति पनि बोलेर हिडेहुन्छ । तर, अहिले नेपालको प्रधानमन्त्री भएको बेलामा बिना आधार जथाभावी बोल्दा देशकै बेइज्जत हुन्छ । प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि उहाँकै नेतृत्वमा टोली गठन गरेर ठोरी गए हुन्छ । अयोध्या गए हुन्छ, जनकपुर गए हुन्छ । धर्म, संस्कार, संस्कृति र पूरातत्वको ज्ञान प्राप्त गरेर आउँदा पनि हुन्छ ।
कृष्णप्रसाद भट्टराईको सपना थियो, काठमाडौंवासीले मेलम्चिको पानी खाउन् भन्ने त्यो पुरा नहुने भयो नि ?
ठीक भन्नुभयो । नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना थियो मेलम्ची खानोपानी आयोजना । यसमा काम गर्दा हतार, हतारमा कसले छिटो जस पाउने भन्ने होडवाजी थियो । निर्माणको सुरुआतदेखि अहिलेसम्म आइपुग्दा करेन्ट, बहाब, फोर्स छ । त्यसलाई परीक्षण गर्नुप¥यो । परीक्षणका लागि प्रयोग गरिएका जुन ढोकाहरु छन् । त्यसको परीक्षण र व्यवस्थापन राम्रो हुनुप¥यो । निर्माणको सुरुआतमा २, ३ वर्षजति चिनियाँ ठेकेदार पनि थिए । त्यसको पनि छानविन गरेर कुन पार्टको काम कसको ठेक्का भएको हो ? भनेर छानविन गर्नुपर्ने छ । असारको अन्त्य भइसक्यो साउनको अन्तिमसम्ममा पानी आइपुग्छ भनिएको छ । अब फेरि वाद फुटेको कुरा आयो । अहिले मध्ये वर्षाको बेला छ । त्यो वाध पनि के कारणले फुट्यो । हाम्रो नेपालको यही कमजोरी काममा अनुगमन नहुने, परीक्षण नहुने । खाली कमिसनमा मात्रै ध्यान दिने कामको गुणस्तरको बारेमा केही ध्यान हुँदैन । यसरी तयार भइसकेको वाध पानी आउनेबित्तिकै फुटेर मानिससम्म मर्नुभनेको हाम्रो देशको विकास र निर्माणको काम गराइमा कति परिपक्व रहेछ । अनुगमन कति चुस्त रहेछ भन्ने एउटा दरिलो प्रमाण हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्