Logo

मानव जाति नै संकटमा पर्दा यी कलाकारको ‘तमासा’



समाचार विश्लेषण । देश लकडाउनमा छ । झण्डै चार महिना लामो लकडाउनले सर्वसाधारण आर्थिक अभावले पिरोलिए । मानसिक रुपमा असरहरु परे । यस्तो अवस्थामा कलाकारहरुले सकारात्मक र रचनात्मक सन्देश दिन सक्नुपथ्र्यो । तर, त्यसको ठिक विपरित गतिविधिहरु कलाकारहरुले देखाए ।

मानव जाति नै संकटमा पर्दा नेपाली कलाकारहरु भने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति र बहसमा केन्द्रित भए । दिपाश्री निरौलाले राजेश हमाल महानायक होइनन् भनिन् । आखिर हमाललाई आधिकारिक रुपमा महानायकको पदवी कसैले दिएको पनि होइन । उनको कला क्षेत्रमा विशेष योगदान छ । तर, सँसारमा कसैले नपाएको महानायक भनिन्थे । दिपाले यसमा प्रश्न उठाइन् । तर, त्यो उपयुक्त समय थिएन ।
कोरोना भाइरविरुद्ध जुधिरहँदा मानिसहरुमा सचेतना फैलाउने र आत्मबल बढाउने गरी कला पस्कनुपर्ने कलाकारहरु आफ्नै स्वार्थमा केन्द्रित देखिए । को ठुलो र को महान भन्नेमा अल्झिए । कला क्षेत्र नयाँ सृजनामा लाग्नुपर्ने थियो । मानिसहरुलाई कोरोना कहरमा पनि जागरुक बनाउने, मानसिक रुपमा बलियो बनाउने सृजना गर्न केन्द्रित गर्नुको साटो बेतुकको बहसमा अल्झिए ।

लकडाउनको मारमा मानिसहरु परिरहँदा अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि अभिनेता भुवन केसीले र्दुव्यवहार गरेको आरोप लगाइन् । उनले सामाजिक सञ्जालमा धेरै समय यसैमा खर्च गरिन् । भुवनले नै साम्रज्ञीलाई चलचित्र क्षेत्रमा अगाडि बढाएका थिए । यी दुईको विवाद यसरी सतहमा आयो कि चलचित्र कलाकार संघमा समेत यो विषय पुग्यो ।

साम्राज्ञीले पुरानो कुरालाई लकडाउनको बेलामा उठाइन् । यो उपयुक्त समय थियो या थिएन बहसको विषय बनेको छ । कतिपयले कलाकारहरु फुर्सदिला भएर पुराना आवेग र असन्तुष्टि पोख्न थालेको टिप्पणी गरे । र्दुव्यवहारको विषय प्रहरीमा उजुरी गर्नुको साटो सामाजिक सञ्जालमा विवादको विषय बनाइयो ।

यसरी नेपाली कलाकारहरु लडाउनमा सर्वसाधारणलाई राहत दिन खासै लागेनन् । न त सर्वसाधारणको आत्मबल बढाउने र मानसिक रुपमा सशक्त बनाउने सृजनामा खासै केन्द्रित भए । आ आफ्नै स्वार्थ केन्द्रित बहसमा सामाजिक सञ्जाल रङ्गाउन लागिपरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot