Logo

नेपाल-भारतबीच ठप्प भएको वार्तामा आइसब्रेक हुने, अर्को हप्ता द्विपक्षीय वार्ता हुँदै



काठमाडौं, २८ साउन । नेपाल र भारतबीच कालापानीको सीमा विवादयता पहिलोपटक वार्ता हुने भएको छ । वार्ता काठमाडौंमै भिडियो कन्फरेन्समार्फत् हुनेछ ।

वार्ताको मिति तय नभएपनि १८ अगष्टका हुनसक्ने इन्डियन एक्सप्रेसले लेखेको छ । भारत सरकारको सहयोगमा भइरहेको विकास आयोजनाको प्रगतिबारे वार्ता केन्द्रित हुने बताइएको छ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागीले टोलीको नेतृत्व गर्नेछन् । भारतका तर्फबाट राजदुत विनय मोहन क्वात्राले नेतृत्व गर्नेछन् ।

भारतले नेपालमा सडक, पुर्ननिर्माण, रेल्वे, तेल पाइपलाइन, सीमा चेकप्वाइन्ट, नेपाल प्रहरी एकेडेमीलगायतको निर्माणमा सहयोग गरिरहेको छ । यसपटकको वार्ता विकास निर्माण आयोजनाको प्रगतिबारे केन्द्रित हुने बताइएपनि कालापानी सीमा विवादपछि हुनलागेको पहिलोपटकको उच्चस्तरीय वार्ता भएकाले अर्थपूर्ण छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्शामा समेटेपछि भारतले वार्ताको वातावरण नबनेको तर्क राख्दै आएको छ । उसले नेपालले प्रस्ताव गरेको सीमाबारेको वार्तामा बेवास्ता गरेको विषय उठ्दै आएको छ । तर, भारतले आफूले सीमाबारे विदेश सचिवस्तरीय वार्ताको प्रस्ताव राखेको र एक अर्काको देशमै पुगेर कुराकानी गर्ने छलफल चलाउँदा नेपालले नक्शा जारी गरेको सञ्चारमाध्यममार्फत् भन्दै आएको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली सोमबारको क्याबिनेटमा निकै नरम भएको बुझिएको छ । सधैजसो क्याबिनेटमा भारतप्रति व्यङ्ग्य गर्ने र कडा टिप्पणी गर्ने उनी यसपटक भने नरम भएको एक मन्त्रीले बताए । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्