Logo

आइसोलेसनमा भर्ना भएर के गर्नु? उपचार नपाएरै जान्छ विमारीको ज्यान



विराटनगर, साउन ३१ । सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषलाई उपचारका लागि मंगलबार विराटनगरको कोशी अस्पताल भर्ना गरियो। स्वाब संकलन गरेर परीक्षणका लागि दिएपछि कोरोना शंकास्पदलाई प्रारम्भिक उपचारका लागि आइसोलेसनमा भर्ना गरियो। कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि उनको बिहीबार राति ८ बजे मृत्यु भयो।

श्वासप्रश्वास र निमोनियाको समस्या तथा मृतकको शरीरमा रगतको कमी रहेको पाइएपछि उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनु पर्नेस्थिति आयो। तर बेड खाली नभएको भन्दै प्रतिष्ठानले बिरामी नपठाउन आग्रह गर्‍यो।

कोरोनाका शंकास्पदलाई राखेर प्रारम्भिक चरणको मात्रै उपचार हुने कोशी अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भयो। ‘समयमै सुविधासम्पन्न भेन्टिलेटरसहितको आइसोलेसनमा पुर्‍याउन पाएको भए बचाउने सम्भावना हुन्थ्यो,’ एक चिकित्सकले भने, ‘भेन्टिलेटर र अक्सिजन नहुँदा संक्रमितले मृत्युवरण गर्नु पर्‍यो।’

त्यस्तै विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक विराटनगर महानगरपालिका–३ घर भएका ५७ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भयो। उनलाई कोरोना पोजिटिभ देखिएपछि सोमबार उपचारका लागि लगिएको थियो।

श्वासप्रश्वासको समस्या बढ्दै गएर स्वास्थ्य अवस्था असामान्य बनेपछि मधुमेह र दमका पुराना रोगी उनलाई थप उपचारका लागि प्रतिष्ठान पठाउन खोजियो। बेड अभावको कारण देखाउँदै प्रतिष्ठानले बिरामी अस्वीकार गर्‍यो।

तत्काल भेन्टिलेटर र अक्सिजन चाहिएकोमा प्रभावकारी उपचार हुन नसक्दा संक्रमितको मृत्यु भएको एक चिकित्सकले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot