Logo

को को छन् मन्त्रीको दौडमा



काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनमा अलमल गरिरहेपनि पार्टीभित्र दबाब बढेको छ । उनीमाथि मन्त्रीमण्डल पुर्नगठन छिटो गर्न दबाब आएपछि अमलम गर्न थालेका छन् । हिजोबाट पेरिसडाँडामा शुरु भएको नेकपा सचिवालय बैठक स्थगित हुनुमा मन्त्रीमण्डल पुर्नगठनको मापदण्डबारे कुरा नमिल्नु पनि कारण रहेको छ ।

हिजो ओलीले पुरै मन्त्रीहरु फेर्ने वा आंशिक फेर्ने विषयमा प्रस्ताव राखेका थिए । उनले पार्टीका अन्य नेताहरुसँग यसबारे धारणा मागेका थिए । मन्त्रीहरुको कार्यक्षमता हेरेर मात्र फेर्नुपर्ने अधिकांशको प्रस्ताव थियो ।

नेकपा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने कि नबनाउने भन्नेबारे विमर्श चलेको छ । गौतम र श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा सचिवालयका सातजना रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलले संविधान बमोजिम मिल्नेमा आशंका व्यक्त गरेका थिए । तर, गौतम र श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा लान दबाब बढिरहेको छ ।

दुई वर्ष पुरा भइसकेपनि केही मन्त्रीहरु भने सरकारमा रहनेछन् । उनीहरुले ओलीलाई संकट पर्दा साथ दिएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारमै रहनेछन् । पोखरेल र बादलले ओलीलाई संकट आउँदा निकै साथ दिएका थिए । ज्ञवाली ओलीका विश्वासपात्र हुन् । उनलाई सञ्चारमा लाने तयारी भएको बुझिएको छ । उनी सरकारका प्रवक्ता तोकिनुमा यो पनि कारण देखिएको छ ।

ओलीलाई संकटमा साथ दिने मन्त्रीहरु लेखराज भट्ट, योगेश भट्टराई र घनश्याम भुषाल पनि सरकारमै रहने बुझिएको छ । भानुभक्त ढकालले पनि निरन्तरता पाउनेछन् ।

यसपटक दुई वर्ष कार्यकाल पुरा गरेका शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल, पद्मा अर्याल, विना मगरलगायत भने बिदा पाउने सम्भावना छ । ओलीले मन्त्री फेर्नुपर्ने अवस्थामा प्रचण्ड र माधव नेपाल पक्षधरलाई बढी कोटा दिनुपर्ने हुनसक्ने भएकाले पनि अलमलमा जानसक्ने सम्भावना रहेको छ ।

तर, नेकपाभित्र मन्त्रीमण्डल पुर्नगठनको विषय उठ्ने वित्तिकै दौडधुप तिव्र भएको छ । मन्त्री बन्न भीम रावल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे, देव गुरुङ, टोपबहादुर रायमाझी, पम्फा भुषाल, महेश बस्नेत, किसान श्रेष्ठ, जुली महतोलगायत छन् ।



प्रतिक्रिया दिनुहोस्