Logo

कोभिडको जोखिममा पनि विश्वका लोकतान्त्रिक मुलुकमा आवधिक चुनाव, नेपालमा के होला ?



काठमाडौं, ९ असोज । कोरोना भाइरसको जोखिमको बाबजुद विश्वका कतिपय देशमा आवधिक चुनाव रोकिएको छैन । दक्षिण कोरियाले कोरोनाको उच्च जोखिमकै बखत १५ अप्रिलमा संसदको चुनाव सम्पन्न गर्यो ।

अमेरिकामा राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा हुँदैछ । प्रत्येक ४ वर्षमा हुने अमेरिकाको चुनाव नरोकिने निश्चितप्रायः छ । राष्ट्रपति चुनावको माहोल बनिसकेको छ ।

भारतमा पनि चुनाव नरोक्ने सरकारी नीति देखिएको छ । विहार विधानसभाको चुनावको मिति तय भएको छ । भारत सँसारकै सर्वाधिक कोरोना संक्रमित भएको देशको सुचीमा दोस्रो स्थानमा छ । विहारमा पनि संक्रमित संख्या बढ्ने क्रम जारी छ । तर, आवधिक चुनाव नरोकिने भएको छ ।

विहार विधानसभा चुनाव यसै वर्षको २८ अक्टोबर, ३ र ७ नोभेम्बरका लागि तय भएको हो । भारतको निर्वाचन आयोगले आज मिति घोषणा गरेको हो । विहारको १६ जिल्लाको ७१ विधानसभा सदस्यका लागि चुनाव हुन लागेको हो ।

लोकतान्त्रिक मुलुकहरुमा महामारीको बेलामा पनि चुनाव रोकिएको छैन । उनीहरुले लोकतान्त्रिक पद्धति र प्रणालीको निरन्तरतामा जोड दिएर गतिलो सन्देश दिएका छन् ।

नेपालमा भने कतिपय चुनावहरु स्थगित हुने र सर्ने क्रम जारी छ । कर्मचारीको आधिकारिक ट्रेड युनीयनको चुनाव सरेको छ । यसमा पनि कोरोना जोखिमलाई कारण देखाइएको छ ।

राजनीतिक दलहरुको महाधिवेशन पनि सरेको छ । नेपाली काँग्रेसले गत वर्ष सम्पन्न गर्नुपर्ने महाधिवेशन एक वर्षका लागि सारेर फागुनमा मिति तोकेको छ । संविधान अनुसार अर्को वर्षको भदौसम्म चुनाव गर्नुपर्ने अवस्था छ । काँग्रेसभित्र फेरि चुनाव सर्ने छाँटकाँट देखिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पनि एकता महाधिवेशन यस वर्षमा गर्ने तय गरेको छ । तर, चुनाव हुनेमा फेरि शंका बढेको छ ।-तस्वीर स्रोत: एजेन्सी 



प्रतिक्रिया दिनुहोस्