Logo

मिडिया एलायन्सका पदाधिकारीद्धारा अर्थमन्त्री पौडेल र सञ्चारमन्त्री गुरुङसँग भेटवार्ता, क्लिनफिड लागु र विज्ञापन बोर्ड गठनबारे कुराकानी



काठमाडौं, २ कार्तिक । मिडिया एलायन्स नेपालका पदाधिकारीले आज नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटवार्ता गरेको छ । एलायन्सका अध्यक्ष भाष्कारराज राजकर्णिकारको नेतृत्वमा गएको टोलीले मिडियाका समस्याका बारेमा कुरा राखेको थियो ।  अर्थमन्त्री पौडेलले मिडिया एलायन्सका पदाधिकारीले राखेका माग सम्बोधन गर्न सरकार तयार रहेको विश्वास दिलाएका थिए । उनले आफू मिडियालाई प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको पनि धारणा राखेका थिए । उनले मिडियाको लागि ‘सफ्ट–लोन’ पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

एलायन्सको तर्फबाट अध्यक्ष राजकर्णिकार, पदाधिकारीहरु राजु कँडेल, ऋषि धमला, विजय पौडेल, महेन्द्र शेरचन, उज्जवल शर्मा, रामेश्वर थापाले आ–आफ्नो भनाई राखेका थिए ।  त्यस्तै, एलायन्स पदाधिकारीले आजै सूचना तथा सञ्चार प्रविधिमन्त्री पावर्त गुरुङसँगपनि भेट गरेको थियो । भेटमा मन्त्री गुरुङले क्लिनफिड लागु गर्न सरोकारवालासँग छलफल गरिरहेको सुनाएका थिए। यसबारेमा आफूले छलफल सुरु गरिसकेको पनि सुनाए । उनले भने,‘म क्लिनफिड कार्यान्वयन गर्ने पक्षमा लाग्छु । र, विज्ञापन बोर्ड पनि गठन गर्छु । अहिले सहसचिवकै नेतृत्वमा समिति बनाएर जान्छु ।’

त्यस्तै, श्रमजीवी पत्रकारहरुको हकहितको लागि पनि आवश्यक कदम चाल्ने उनको भनाई थियो । मन्त्री गुरुङले मिडियासँग सहकार्य गर्न सरकार तयार रहेको पनि जनाए । उनले मिडियाले सरकारको कमिकमजोरी औंल्याउने र राम्रो कामलाई राम्रो भन्नुपर्ने बताए । उनले सरकार र मिडिया मिलेर जानुपर्ने धारणा राखे । ‘उनले अहिलेको विषम परिस्थितिमा मिडियालाई पनि ठूलो समस्या परेको सुनाउँदै यसबारेमा कस्तो सहयोग गर्न सकिने ? हो त्यसको लागि अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा पनि गर्छु ।’

उनले अहिले आफू मन्त्रालयको ब्रिफिङ छोडेर क्लिनफिड लागु गराउनेतर्फ बढि केन्द्रित भएको सुनाए । उक्त भेटमा एलायन्सका अध्यक्ष राजकर्णिकारले पनि क्लिनफिड लागु र विज्ञापन बोर्ड गठन गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, प्राईम टाईम्स टेलिभिजनका अध्यक्षसमेत रहेका एलायन्सका कार्यकारिणी सदस्य ऋषि धमला क्लिनफिड लागु हुनुपर्ने धारणा राखे । उनले यसबाट सरकार ब्याक हुन नहुने बताएका थिए । र, उनले विज्ञापन बोर्ड गठनमा ढिलाई नगर्न पनि मन्त्रीलाई सुझाव दिए । मिडिया मालिकहरुले श्रमजिवी पत्रकारहरुको समस्या सम्बोधन गर्नुपर्ने धमलाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot