Logo

मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?



काठमाडौं, १३ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री मात्रिका यादवले पार्टीभित्र विधि र विधानलाई नेताहरुले फलो नगरेको टिप्पणी गरेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा कसैले पनि नफुटाउने दाबी गरे । उनले भने,‘यस्तो मोजमस्ती छ हामीलाई, क्रान्ति गर्नुछ र हामीलाई ? म चाहीँ अब क्रान्तिकारी छैन् ।’ उनले आफूहरुले गरेको जनयुद्धले केही उपलब्धि भएन ? भन्नु गलत हुने बताए । उनले भने,‘जनयुद्धकै बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । धेरै उपलब्धि भएका छन् । समानूपातिक प्रतिनिधित्व भएको छ । केही भएन भन्न मिल्दैन् । जुन प्रकारले अघि बढ्नुपर्ने थियो । त्यसरी अघि बढेको छैन् ।’

उनले तपाईहरुको पार्टी किन एक ढिक्का भएर अघि बढ्न सकेन ? भनेर सोधेको प्रश्नमा उनले भने,‘सुरुमा पार्टी एकता गर्ने बेलामा पनि प्रचण्डसँग भनेको थिएँ कि यो ठिक भएको छैन् । विचारमा स्पष्ट नभईकन एकता गनुृहुँदैन थियो भनेर मैले भनेको थिएँ । एकता बचाउनको लागि हामी जे–जे गर्नुपर्ने हो, त्यो गरिराखेका छौं । हामी एकताविरोधी होईन् । सही र गलतको बीचमा बहस चलाउने हो ।’

उनले नेपाल र भारतबीच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राखे । रअ प्रमुखसँग प्रचण्डले भेटेको भन्ने समाचारमा उनले आपत्ति जनाए । उनले भने,‘उहाँहरु भेट्नुभएको होईन । कसरी भेटे भन्नेबारे विज्ञहरुलाई सोध्नुहोला । रअ प्रमुख प्रधानमन्त्रीको दूत बनेर आएको भए त लुकेर आउने थिएनन नि ?’ पर्सामा नेकपाका मुकेश चौरसियाको शब किन उठेन ? किटान जाहेरी किन दर्ता भएन ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘हिजो पनि हामी छलफल गर्यौं । त्यो घट्ना नियोजित हो । प्रहरी प्रशासनको पनि सहयोग देखिन्छ । मुकेश चौरसियाको शब नउठ्नुमा प्रशासन सिधै अगाडि छ । पछाडि को को छ ? त्यो खोजतलास गर्ने विषय हो । नत्र केश किन दर्ता हुँदैन् ? यो पार्टीको लागि, यो कसको सरकार हो ? बुझि नसक्नुहुन्छ ।’

अनि शब उठाउन ढिला भयो नि, तपाईहरुको योजना के छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले थपे,‘घट्ना घटेको आज ८ दिन भैसक्यो । हामी शब उठाउँछौं । पहिला केश दर्ता गर्नुपर्छ । पोष्टमार्टम हुनुपर्छ । जाहेरी किटानी लिनुपर्छ भनेर ३७ जना केन्द्रिय सदस्यहरुले जाहेरी दर्ताको माग गरेका छौं ।’ गृहमन्त्री रामबहादुर थापा बादलले किटानी जाहेरी लिन्छु भनेको भएपनि मन्त्री थापाभन्दा माथिकोले नगर भनेर जोहरी दर्ता नगरेको होला भन्ने उनको धारणा छ । उनले भने,‘सायद प्रधानमन्त्रीको दबाबमा गृहमन्त्री पर्नुभयो । पार्टीको कार्यकर्ताको हत्या हुन्छ ? अनि जाहेरी दर्ता हुँदैन् । भिड्न जानुपर्ने हो । हामीले फेरि छाती थाप्नुपर्यो । देशका साथीहरुलाई भन्छु । फिल्डमा आएर बुझ्नुहोस । सिडिओले भनिरहेको छ दर्ता गरौं भनेर । तर, किन भएको छैन ?’

उनले स्थायी कमिटीको म्याण्डेट प्रधानमन्त्रीले लत्याउनुभयो भनेर नेकपाका नेताहरुले भनेका छन् नि ? भनेर राखेको अर्को जिज्ञासामा उनले भने,‘म स्थायी कमिटी बैठकको एजेण्डाको समर्थक थिईँन । स्थायी कमिटकिो प्रस्तावमा मेरो विमति थियो । कसरी अगाडि बढ्छ ? भन्ने कुरा त्यो उहाँहरुलाई सोध्नुहोस् । केही मान्छेहरु बस्ने छलफल गर्ने अनि टालटुल पार्ने हिँड्ने गलत हो । विधि र प्रक्रियाअनुसार पार्टी चलेको छैन् । व्यक्तिगत र सामूहिक स्वार्थहरुबीच टकराव भैरहेको छ । प्रचण्डले पनि केही गर्न सक्नुभएन भन्ने होईन । दुवै अध्यक्षले गरिरहेका छन् । आ–आफ्नो ढंग र विचारअनुसार हिँडिरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot