Logo

कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न लागे जत्तिकै भण्डारण र ढुवानीमा खर्च, गरिब देशहरुलाई धान्न कठिन



एजेन्सी, ६ मंसिर । कोरोना भाइरसविरुद्धको खोप विकास भइरहेको खबरले विश्वभर खुशी छाएको छ । विकसित देशका केही कम्पनिहरुले कोरोना भाइरसको खोप विकासको अन्तिम चरण पुगेको जानकारी दिन थालेका छन् । खोपको प्रभावकारिताको दाबी धमाधम सार्वजनिक भइरहेको छ । उनीहरुले २०२० को अन्तभित्र खोप उत्पादन गरी प्रयोगमा ल्याउने समेत जनाएका छन् । यद्यपि, खोपको विकास जति चुनौतीपूर्ण बनिरहेको छ उत्तिकै चुनौतीपूर्ण यसको सुरक्षित भण्डारणको रहेको छ ।

अहिले विकास भइरहेको कोरोना भाइरसविरुद्धको खोप उत्पादन भइसकेपछि चीस्यान चाहिने हुन्छ । माइनस ७० डिग्रीभन्दा कम तापक्रममा समेत चिस्याएर भण्डारण गर्नुपर्ने हुन्छ । उदाहरणका लागि फाइजरले विकास गरेको भ्याक्सिन न्यूनतम ७० डिग्री तापक्रममा भण्डारण गरेमा लामो समय सुरक्षित राख्न सकिन्छ । यो भ्याक्सिन माइनस २० को तापक्रममा राख्दा ६० दिन र ८ डिग्रीसम्म राख्दा ३० दिन र कोठाको तापक्रममा १२ घन्टामात्र सुरक्षित राख्न सकिने उल्लेख छ । भ्याक्सिन विकाससँगै चिस्याउने र भण्डारण गर्ने चुनौती बढी देखिन्छ ।

धनी देशहरुले चिस्याउने प्रविधिका लागि खर्च गर्न सक्छन् । तर, गरिब देशहरुका लागि त्यो सम्भव बनाउन निकै कठिन देखिन्छ । कतिपय तापक्रम बढी रहेका देशहरुमा चिस्याउँदै एक ठाउँबाट अर्को ठाउँमा खोप पुर्याउन उत्तिकै चुनौती हुनसक्छ ।

Handout picture released by the Sao Paulo State Government showing the cargo shipment of COVID-19 vaccines produced by the Chinese company Sinovac Biotech, being dispatched at the Cumbica airport, in Guarulhos, Sao Paulo state, Brazil, on July 20, 2020. – The vaccine trial will be carried out in Brazil in partnership with the Brazilian Research Institute Butanta. (Photo by Handout / Sao Paulo State Government / AFP) / RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO / SAO PAULO STATE GOVERNMENT ” – NO MARKETING – NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS

अमेरिकी भ्याक्सिन निर्माता कम्पनि मोर्डनाले विकास गरिरहेको भ्याक्सिन माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । रुसद्वारा विकास गरिएको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक भी माइनस २० डिग्रीमा भण्डारण गर्न सकिन्छ ।

जोन्सन्स एन्ड जोन्सनको भ्याक्सिन सुन्य डिग्री देखि १० डिग्रीसम्म भण्डारण गर्न मिल्ने जनाइएको छ । अहिले विकास भइरहेको अधिकांश भ्याक्सिनको भण्डारणका लागि माइनस डिग्री हुनुपर्ने देखिएको छ । यसले चिस्याउने र भ्याक्सिनको सुरक्षाको चुनौती बढ्न जाँदा कम्पनिहरुले कोठाको तापक्रममा पनि सुरक्षित राख्न सकिने भ्याक्सिनको विकास गर्न थालेका छन् । फाइजरले पाउडर खालको कोरोनाविरुद्धको भ्याक्सिन विकास गरिरहेको जनाएको छ । तर, यो अर्को वर्षमा मात्र सम्भव हुने जनाइएको छ ।

अमेरिकी भ्याक्सिन निर्माता युएस बायोटेक इनोभिओको भ्याक्सिन कोठाको तापक्रममा समेत सुरक्षित राख्न सकिने जनाइएको छ । यसको परीक्षण भइरहेको छ ।
यसरी भ्याक्सिन विकास गर्न लागेको कुल रकम जत्तिकै रकम चिस्याउने र ढुवानीमा खर्च लाग्ने आँकलन गरिएको छ । फाइनानसियल टाइम्सले भ्याक्सिन विकासमा लागेको रकमको ८० प्रतिशत चिस्याउन र ढुवानीमा खर्च लाग्ने अनुमान गरेको छ ।

चीनले भ्याक्सिन विकास गरिरहँदा चिस्याउने प्रविधि पनि विकास गरिरहेको छ । चाइना इन्टरनेशनल मेराइन कन्टेनरले भ्याक्सिन भण्डारणको प्रविधि निर्माण गरिरहेको छ । जसमा चिस्याउने प्रविधिका अलावा प्रेसरसमेतको व्यवस्थापन गरिएको छ ।

चिनियाँ तीन कम्पनिहरु सिनोफाम, क्यानसिनो र सिनोभाक भ्याक्सिन विकासमा अगाडि छन् । उनीहरुका लागि पनि भण्डारण र ढुवानी चुनौती बनेको छ । यी कम्पनिहरुसँग चीनबाहिरबाट समेत करोडौं डोजको माग भइरहेको छ । यसका लागि पनि चिस्याउने प्रविधि चुनौती बनेको छ ।

एउटा देशबाट अर्को देशमा भ्याक्सिन ढुवानी गर्दा प्रायः विमानहरुको प्रयोग गरिन्छ । यसका लागि ठुलो धनराशी खर्च हुन्छ । कतिपय अवस्थामा भ्याक्सिन भण्डारण सही नहुँदा बिग्रन सक्छ । विश्व स्वास्थ्य संगठनले सँसारमा उत्पादन भएका भ्याक्सिनको आधा भण्डारणको समस्याले खेर जाने अनुमान गरेको छ ।

अहिले विकास भएका भ्याक्सिन माइनस डिग्री देखि ८ डिग्रीको बीचमा भण्डारण गर्नुपर्ने हुन्छ । अन्यथा यसको प्रभावकारिता रहँदैन र खेर जान्छ । यसकारण पनि भ्याक्सिन विकास भएसँगै भण्डारण, ढुवानी र सुरक्षित तरिकाले उपभोगकर्तासम्म पुर्याउने चुनौती छ । यसमा ठुलो धनराशी खर्च गर्नुपर्ने हुन्छ । अत्याधुनिक प्रविधि उत्तिकै जरुरी छ । जुन गरिब देशहरुका लागि धान्न कठिन हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्