Logo

ओली, प्रचण्ड या कुनै राजनीतिक खेलाडीको पक्षमा नदेखिन भारतलाई जेएनयूकी प्राध्यापक संगिता थपलियालको सुझाव



काठमाडौं, २३ पौष । नेपालको पछिल्लो राजनीतिक घटनामा कुनैपनि राजनीतिक खेलाडीहरुको पक्षमा भारत देखिननहुने एकजना भारतीय प्राध्यापकले सुझाव दिएकी छिन् । नेपाल मामलाकी जानकार जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक संगिता थपलियालले त्यस्तो सुझाव दिएकी हुन् ।

‘भारतले कुनै एक राजनीतिक खेलाडीको पक्षमा देखिनु हुन्नँ,’ नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको व्याख्या गर्दै प्राध्यापक थपलियालले विवेकानन्द फाउण्डेशनको वेवसाइटमा आज प्रकाशित लेखमार्फत् सुझाव दिएकी छिन् । उनले भारतको औपचारिक धारणा समेत उल्लेख गर्दै राजनीतिक व्यक्ति विशेषको पक्षमा नलाग्न भनेकी छिन् ।

थपलियालले नेपाल नयाँ संविधानको परीक्षणको घडीमा रहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्,‘नेपाल संविधानको परीक्षणको रोचक मोडमा पुगेको छ ।’ प्रधानमन्त्री ओलीको संसद बिघटन गराउने कदमपछि यो विषय सर्वोच्च अदालतमा पुगेकाले सबैको ध्यान त्यतै रहेको लेखमा उल्लेख गर्दै घटनाक्रमलाई निकै चाखलाग्दो भनेकी छिन् ।

नेपालमा चीनको पछिल्लो भूमिका वृस्तृत रुपमा थपलियालले व्याख्या गरेकी छिन् । उनले लेखेकी छिन्,‘वामपन्थी एकतामा चीनले भुमिका खेलेको भनिन्छ ।’ भारतसँग सम्बन्ध बिग्रिएपछि ओलीले पहिलोपटक प्रधानमन्त्री बन्दा चीनसँग सम्बन्ध सुमधुर बनाएको देखि चीनले सी चिनफिङको विचारधाराबारे वर्कशप चलाउँदा प्रचण्ड र माधवकुमार नेपाल दुवै उपस्थित भएको घटना समेत उल्लेख गरेकी छिन् । ओली पहिलोपटक प्रधानमन्त्री बन्दा नेपाल बेल्ड एन्ड रोड इनिसिएटिभको सदस्य बनेको समेत लेखमा उल्लेख गरेकी छिन् ।

थपलियालले सबैभन्दा महत्वपूर्ण चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको सम्बन्धलाई भनेकी छिन् । थपलियालले लेखेकी छिन्,‘सी जिनपिङ विचारधाराबारे दुई दिने वर्कशप नै चलाउन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ टाओ नेपाल आएका थिए । प्रचण्ड र माधव नेपाल पनि सहभागी भए । प्रतिनिधिमण्डलले ओलीलाई पनि भेट्यो ।’

चिनियाँ राजदूत होउ यान्छी निकै सक्रिय भएको र लगातार राजनीतिक दलका नेताहरुलाई भेटिरहिने गरेको उल्लेख गरेकी छिन् । नेपालमा राजनीतिक दलका नेताहरुसँग सम्पर्क स्थापना गरेर चीनले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने क्रम चलाइरहेको भनेकी छिन् ।

पूर्व एमाले र माओवादीको एकता चुनावी फाइदाको उद्देश्यले भएको थपलियालको तर्क छ । उनले दुर्व दलको इतिहास संघर्ष र उद्देश्य नै फरक भएको, संविधानसभामा पनि संघीयतालगायत विविध विषयमा फरक धारणा रहेको उल्लेख गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot